Sajhedari Daily
Latest News from Nepal

स्थानीय तहले बनाएका आईसोलेशन खाली

कोभिड संक्रमण भएका विरामीहरुका लागि पछिल्लो पटक जिल्लाका केही स्थानीय तहद्धारा निर्माण गरेका आईसोलेशन प्राय खाली नै देखिएका छन् ।

आईसोलेसन सञ्चालन प्रति विश्वास नहुँदा संक्रमित घरमै बसेका हुन् भने गम्भिर प्रकृतिका विरामीहरु अस्पतालको आईशोलेसनमा छन् ।

पहिलो चरणमा निर्माण गरिएका र सञ्चालन भएका क्वारिन्टीन तथा आईसोलेशनको व्यवस्थापन अत्यन्तै फितलो रहेकाले पनि संक्रमितहरु अहिले आईसोलेशनमा बस्न चाहदैनन् ।

जिल्लामा रहेका दुई उपमहानगरले कलैयाको गंगापुरमा र सिमराको विद्यालय भवनमा आईसोलेशन निर्माण गरेपनि हालसम्म आईसोलेशनमा बस्न एक जना पनि नआएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडासदस्य रामचन्द्र लामाले जानकारी दिए ।

जिल्लामा हाल एक हजार ३३ संक्रमित रहदा ९ सय त्रिहत्तर घरमै बसेका छन् भने पचास जना बीरगञ्ज र काठमाण्डौका अस्पतालमा रहेको प्रहरीको तथ्याकले देखाउछ ।

बैशाख ३१ गतेबाट सञ्चालनमा आएको कलैयाको गंगापुरस्थित आईसोलेशनमा हालसम्म एक जना पनि व्यक्ति नआएको आईशोलेसन व्यवस्थापन हेर्ने अजय जयसवालले जानकारी दिए । हाल उक्त आईशोलेसनमा ५ वटा अक्सिजन रहेको छ भने ३५ वटा आउने क्रममा रहेको छ ।

एकै पटक ठूलो संख्यामा विरामी अस्पताल भर्ना हुन आए जिल्लाको एक मात्र कलैया अस्पतालले धान्न सक्ने अवस्था छैन । एक पटकमा बढिमा १७ जना भन्दा बढि भर्ना गर्न सकिन्न । कलैया अस्पतालमा एचडियु जडित १५ बेड रहेको छ । दरबन्दीको १५ प्रतिशत मात्र चिकित्सक एवं प्राविधिक रहेको कलैया अस्पतालको अवस्था समेत नाजुक नै छ ।

Comments are closed.

error: Content is protected !!