Sajhedari Daily
Latest News from Nepal

अवैध चिरान सहित सरकारी गाडि पक्राउ

जीतपुरसिमरा उपमहानगरपालिकाको सरकारी ट्रीपर अबैध सालको चिरान सहित पक्राउ परेको छ ।उपमहानगरपालिकाको ना १ ग ७६२ नम्बरको ट्रीपर करिव १३ क्युफिट सालको चिरान सहित पक्राउ परेको हो ।

सशस्त्र प्रहरी बल नम्बर ४० रिजर्भ गण पिलुवाले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा १३ थान सालको चिरान सहित चालकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिए लगत्तै सशस्त्र प्रहरीले डिभिजन वन कार्यालय, बारालाई गाडि, काठ र चालकलाई रातिनै बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार जिल्लाकै टांगियाबस्तीबाट काठ लोड गरिएको हो । ‘काठ जीतपुर लैजान खोजिएको बुझ्न आएको छ, हामीले गाडि काठ र चालकलाई आजै डिभिजन वन कार्यालय बारालाई बुझायौं।’ सशस्त्र प्रहरीका प्रवक्ता राजकुमार कंडेलले जानकारी दिए ।