Sajhedari Daily
Latest News from Nepal

महामारीमा निशुल्क भोजन तथा सामाजिक सेवाको कार्य गर्दै प्रणामी युवा परिषद्

काठमाण्डौ, १८ जेठ
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले काठमाण्डौको व्यस्त सडकहरुमा दैनिक विहानको खाना वितरण कार्य गर्दै आएको छ ।
कोरोना भाईरसको दोस्रो लहरले आक्रान्त बनेको नेपाल र खासगरी वढि प्रभावित क्षेत्र काठमाण्डौमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि काठमाण्डौमा विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्ने, विभिन्न स्थानहरुबाट अध्ययनका लागि वसेकाहरु बढि प्रभावित भएका छन।
युवा परिषद्ले कोही भोक भोकै नमरुन भन्ने उदेश्यले सेवा सहित निशुल्क भोजनको व्यवस्था गरेको परिषद् नेपालका अध्यक्ष नमराज ढकालले बताएका छन । रोगले त मानिसहरु मर्दै छन् जसमा हामीले अस्पतालहरु र सरकारको नै भर पर्नु बाहेक अरु उपाय नरहेतापनि भोकको लागि भने पक्कै हामीले पहिलो चरणको कोभिडबाट नै केही गर्न सक्छौ भन्ने लागेर खाना खुवाउने कार्य गरेको अध्यक्ष ढकालले बताए ।
युवा परिषदले काठमाण्डौको अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक रहेको तिलगंगा, चावहिल, रातोपुल, पुरानो वानेश्वर, मैतीदेवी लगायतका क्षेत्रमा खुवाउने गरेको अध्यक्ष ढकालले जानकारी दिए ।
प्रणामी युवा परिषद् पहिलो चरणको कोभिड महामारीमा विभिन्न यस्ता विभिन्न सेवाको कामहरु गरे र यस दोश्रो चरणको कोभिडमा ५ वटा प्रदेश कमिटी र ४६ जिल्लामा रहेको संजालबाट हेल्प डेस्क समेत सञ्चालन गरिरहेको युवा परिषद् निवर्तमान अध्यक्ष मातृका प्याकुरेलले जानकारी गराएका छन ।
हेल्प डेक्स मार्फत निःशुल्क स्वास्थ्य चिकित्सा परामर्श, टेलिमेडिसिन परामर्श, अत्यावश्यक स्वास्थ्य सेवा सूचना सम्प्रेषण र एम्बुलेन्स र अन्य निःशुल्क सेवा दिइरहेको निवर्तमान अध्यक्ष प्याकुरेले जनाए ।
सामाजिक संघ संस्थाले गर्दै आएको खाना वितरणमा पनि काठमाण्डौ महानगरपालिकाले गाडीको पास वितरण गर्नुपर्ने र क्षेत्र छुट्याएर संघसंस्थाहरुलाई खाना खुवाउने तालिका छुट्याउने व्यवस्था गरिदिए सहज हुने अभियान्ता तथा युवा परिषदका सदस्य दिपक पाण्डेले बताएका छन ।