Sajhedari Daily
Latest News from Nepal

जिम्मेवार जीवनशैली र वातावरणमैत्रीपुर्ण मानवीय ब्यावहारको खाचो

  उमेश सापकोटा

 सन्सार आज विभिन्न किसिमका प्राकृतिक प्रकोपका भयंकर चक्रब्युहमा फसेको देखिन्छ। यो ब्रह्माण्डमा सृजित हरेक बस्तुको अस्तित्वको सङ्कट्पुर्ण अवस्था छ। हाम्रा विभिन्न धार्मिक ग्रन्थहरुमा अनुमानित सङ्कटको आङ्कलन कुनै न कुनै रुपमा सत्यतथ्य रहेको पनि अनुभुत हुन्छ। त्यसैले मानवीय ब्यावहार अब प्रकृतिमैत्री हुन जरुरी छ।

हरेक देश प्रविधि र आर्थिक विकासको धरातलमा विश्व महाशक्ति बन्न द्रुत गतिको दौडमा छन्। यो असन्तुलित र उत्तरदायित्वबिनाको विकासले विनाश पनि सँगै ल्याउँछ। तर दिगो विकासका लागि वातावरण सन्तुलनसँगै सामाजिक न्याय र समानता पनि उत्तिकै महत्वपूर्ण छन्। जीवनस्तर उकास्ने गरी विकास गर्नका लागि आर्थिक पक्षमात्रै होइन, वातावरण सन्तुलन र सामाजिक न्यायलाईसमेत हिसाब गरेर मात्र समृद्धिको मापन गर्नुपर्छ। पर्यावरण संरक्षण गर्न सके एकमात्र जीवित ग्रहको अस्तित्व जीवित रहने छ। यसका लागि हरेक देश र नागरिकले वातावरणमैत्री जीवनशैली अपनाउनुपर्छ।

जिम्मेवार खानपिन र उपभोगका लागि आ–आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ। हामीले प्रकृतिलाई क्षतविक्षत बनायौँ, उपभोग भन्दा पनि दोहन गर्‍यौँ, त्यसैले प्रकृतिले हामीलाई पटकपटक विभिन्न रुपमा सावधान गराइरहेको छ। यसलाई हामीले बेलैमा बुझेर प्रकृतिमैत्री जीवनशैली अपनाउन आवश्यक छ। प्रकतिसँगको सह–अस्तित्वमा नै हाम्रो अस्तित्व छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ।

सुन्दर प्रकृति र जीवन धान्न सक्ने अदभूत क्षमताका कारण पृथ्वी यो ब्रह्माण्डको एक मात्र स्वर्ग हो। यसलाई पर्यावरण र जैविक विविधता विनाश तथा जलवायु परिवर्तनका कारण होईन बरु हाम्रो स्वार्थ, लोभ, मूर्खता र उदासीपनले नरक बनाएको छ। मूख्य समस्याका जड यिनै हुन्।

यसको समाधान गर्न जीवनशैलीमा आमूल रुपान्तरण गरी यसलाई सामाजिक संस्कारकै तहमा विकास गनुपर्ने देखिन्छ। यो स्वर्गसरीको पृथ्वी छोडेर जीवनको कुनै पनि आधार नभएको अन्य ग्रहमा मानवबस्ती बसाल्नेजस्ता तुकहिन काममा गरिने लगानीले हामीलाई अस्तित्वविहीन बनाउने पक्का छ ।

 कोल्हबी-८ नयाँबस्ती बारा

 

Comments are closed.

error: Content is protected !!