Sajhedari Daily
Latest News from Nepal

तीन महिनादेखि फोहोर नउठ्दा जीतपुरसिमरा फोहोरको डङ्गुुरको बन्दै

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको शहरी क्षेत्रमा तीन महिनादेखि फोहोर उठ्न सकेको छैन ।

उपमहानगरपालिकाले फोहर नउठ्दा उपमहानगर शहर क्षेत्र फोहोरको डङ्गुुरको रुपमा परिणत हुुँदै गएको छ ।

उपमहानगरपालिकाको मुख्य शहरी क्षेत्र सिमरा, जीतपुर, औराहा, डुमरवाना, अम्लेखगञ्ज बजारको चोकमा फोहोर थुप्रिँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिँदै गएको छ ।

उपमहानगरपालिकाको केन्द्रको रुपमा रहेको जीतपुर बजारमा लामो समयदेखी फोहर संकलन नहुदा सेवग्राही र व्यवसायीहरुलाई सास्थी भईरहेको छ ।

लामो समयदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएर व्यापार व्यवसाय नै चौपट भएको स्थानीय तरकारी व्यवसायी ईर्बराहन महमदले गुनासो गरेका छन ।

तरकारी बजारका व्यवसायीहरुले फोहोर व्यवस्थापनका लागि शुल्क बुझाए पनि तीन महिनादेखि फोहोर व्यवस्थापन हुन सकेको छैन ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि बर्सेनि करोडौ रुपयाँ खर्च गरे पनि दीर्घकालिन समाधान हुन सकेको छैन।

नगरपालिकाले फोहोर व्यवस्थापनका दुई वर्षदेखि ग्रिन एण्ड क्लिन सिटी प्रालिसँग ठेक्का सम्झौता गरेको छ।

नगरपालिकाले ग्रामीण भेगमा उत्पादन भएका फोहोर गाँउघरमै व्यवस्थापन गरे पनि पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको बजार क्षेत्रका फोहोर दुधौरा खोला छेउमा व्यवस्थापन गर्दै आएको छ।

तर, दुधौरा खोला छेउका स्थानीयहरुले अवरोध गरेपछि पसल, होटल व्यवसायका फोहोरहरु सडक चोकचोकमा थुपारिएको छ।

स्थानीयहरुले अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा समस्या भएको ग्रिन एण्ड क्लिन सिटी प्रालि मकवानपुरका प्रमुख नवराज खतिवडाले बताए ।