Sajhedari Daily
Latest News from Nepal

मुआब्जा बिवादले सिमरा–कोहल्वी सडकखण्डको बालगंगा पुल निर्माण अलपत्र

मुुआब्जा बिवादले बाराको सिमरा–कोहल्वी सडकखण्डको बडहरवा निर्माणधिन बालगंगा पुल निर्माण अलपत्र परेको छ ।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले बडहरवा स्थित बालगंगा पुल निर्माण रोक्न अन्तरिम आदेश दिएपछि पुल निर्माण अलपत्र परेको हो । उक्त पुल निर्माण भईरहेको स्थानमा निजी जग्गा परेको भन्दै मुुआब्जा बिवाद अदालत पुुगेपछि अदालतको आदेश पश्चत निर्माण कार्य रोकिएको छ ।

पुल निर्माण गर्दा आफ्नो जग्गा परेको भन्दै परमेश्वर महासेठले मुआब्जाको माग गर्दै अदालत पुगेका थिए। उनी पूर्वमन्त्री तथा एमाले नेता रघुवीर महासेठका भाई हुन् । महासेठले खोलाको जग्गाको मुआब्जा दावी गर्दै अदालतमा रिट हालेपछि ६ महिनायता बडहरवा पुल अलपत्र परेको जनाईएको छ ।

करिब २ सय ५० मिटर लामो पुलले साढे २ बिगाहा जग्गा ओगटेको स्थानीयले बताएका छन् । यसमध्ये महासेठको जग्गा १० कट्ठा रहेको छ । महासेठले प्रतिकट्ठा जग्गाको ७–८ लाख रुपैयाँका दरले १० कट्ठाको करिब ८० लाख रूपैयाँ मुआब्जा माग गरेको जीतपुरसिमरा वडा नं.१८ का वडाध्यक्ष अर्जुन दहालले बताए।

पुलको निर्माणमा करिब १२ करोड लगानी भएको छ। अब पुलको केही भाग ढलान, पुलको दुवैतर्फ माटो भर्ने र तारजालीले ड्याम कस्न मात्र बाँकी छ। पुलको निर्माणको ठेक्का अक्षय निर्माण सेवा काठमाडौंले पाएको थियो।

तर डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख खड्गलाल श्रेष्ठले बडहरवा पुल डिजाइन अनुसार नै बनाइएको बताएका छन ।

मुआब्जा माग्दै निकालिएको विवादबारे श्रेष्ठले निर्माणको अन्तिम चरणमा विवाद सिर्जना गर्नु नियोजित भए पनि कानुनी रुपमा क्षतिपूर्तीको कुनै व्यवस्था नभएको जनाए ।

पुल निर्माण कार्य ठप्प भएपछि सोही सडक खण्ड भएर विभिन्न कामका लागि उपमहानगरपालिका सेवा लिने हजारौ सेवाग्रही र अन्य कामका लागि सिमरा, जीतपुर, वीरगंज, परवानीपुर जाने सयौ गाउँका मानिसहरुले सास्थी भोग्दै आएका छन ।