Sajhedari Daily
Latest News from Nepal

जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा आज हुदै

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा आज शुक्रवार हुदै छ ।

बजेट बाँडफाडका बिवादका हुन नसकेको नगरसभा ढिलै भएपनि सहमतिवीच शुक्रवार हुदैछ । उपमहानगरपालिकाको एक हप्ता अघिनै नगर सभा गर्ने मिति तय भएको सहमती सहित घोषणा गरिएपनि बिहिवारको बैठक बसी निर्णय गरेर औपचारिकता दिईएको छ ।

आज परिषदमा जाने बजेट, निती तथा कार्यक्रमहरु सर्वसहमतिमा पास गर्ने निर्णय भएको वडा नं. १ का वडाअध्यक्ष हिरा बहादुर गुरुङले बताएका ।

उपमहानगरपालिकामा रहेका २४ वटा वडालाई बजेटको सिलिङ अनुसार दुई दुई करोड र थप १२ करोड मध्ये वडाको भौगोलिक र जनसङख्याको हिसाबले वाँडफाँड गर्ने गरी सहमति जुटेको वडा नम्बर १७ का वडाअध्यक्ष नवराज वहादुर खड्काले बताए ।

सहमति अनसार आर्थिक बर्ष २०७८-०७९ मा वडागत बजेट वितरणमा सवैभन्दा वढि वडा नं. १६ ले करिब तीन करोड पाउने भएको छ । दोश्रोमा वडा नं. ७ ले करिब २ करोड ७९ लाख पाउने उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । यो रकम गतबर्षको बजेट भन्दा करिब एक करोड ३० लाख बढी हो । सबैभन्दा कम पाउने वडामा वडा नं. ६ परेको छ ।

वडा नम्बर ६ ले पनि करिब दुई करोड ३० लाख पाउने भएको उपमहानगरपालिकाको प्रशासन शाखा अधिकृत बालाराम खड्काले जानकारी दिए ।

गतबर्ष वडालाई बजेट कम दिएको र नगरको बजेट मन परेको वडालाई मात्र दिने गरेको भएपनि यसपटक नेपाली काग्रेस, नेकपा माओवादी र समाजवादी पार्टीको सामुहिक विवाद भई नेकपा एमाले अल्पमतमा परेपछि नगरसभा नै अन्यौल बनेको थियो ।