Sajhedari Daily
Latest News from Nepal

दुर्घटनामा महिलाको मृत्यु

सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

 

सुनसरीको चतराबाट दर्शन गरी फर्कँदै गरेको ना४ख २८०० नम्बरको बसबाट ओर्लेर बाटो काट्ने क्रममा राति ९ बजे ना४ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

 

खाजा खानका लागि बस रोकिरहेको अवस्थामा बसबाट ओर्लेर बाटो काटिरहेकी महिलालाई पूर्वबाट पश्चिम जाँदै गरेको ट्याङ्करले ठक्कर दिएको थियो ।

घाइते गिरीलाई उपचारका लागि रुपनी गाउँपालिकास्थित युनिक अस्पताल पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ काफ्लेले बताउनुभयो ।

ठक्कर दिने ट्याङ्कर र चालक मोरङ विराटनगर महानगरपालिका–४ खाडीकोबरा बस्ने ४५ वर्षीय गणेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

दुर्घटनामा मृत्यु

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित चिरौली चोकमा शनिबार राति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय हेमन्त उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को८प ४११५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक इनरुवा–९ का ४० वर्षीय बाबुराम उराँव समान्य र पछाडि सवार हेमन्त गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका हेमन्तको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा समान्य घाइते भएका बाबुरामको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इटहरीमा बम फेला

सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित ग्राइभेल सडक सम्याउने क्रममा शनिबार बम फेला परेको छ । इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रिनेट बम फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

बाटो मर्मत गर्ने क्रममा बम जस्तो सामग्री देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फेला परेको ग्रिनेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको सुनसरीका प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments are closed.

error: Content is protected !!