बजार भाउ भन्दा कम सर्मथन मूल्य पाएपछि किसानले सरकारलाई धान नै दिएनन्

राम मण्डल
348 पाठक संख्या

बजार मूल्य भन्दा सरकारी खरिद मूल्य कम भएपछि खाद्यय ब्यवस्था तथा ब्यापार कम्पनीमा किसानहरुले धान बिक्री गर्न आएका छैनन ।

कम्पनीको वीरगञ्जस्थित कार्यालयले धान खरिद गर्न शुरु गरेपछि किसानहरु धान बिक्री गर्न आएका छैनन ।किसानहरु धान बिक्री गर्न नआउनुको मुख्य कारण भने यसपालि सरकारले तोकेको धानको समर्थन मुल्य भन्दा बढी बजारमै मुल्य रहेको छ ।

शुक्रबार देखि नै कम्पनीको वीरगञ्जस्थित कार्यालयले सूचना जारी गरेर किसानहरुले उत्पादन गरेको सोना मन्सुली र जिरा मसिनो धान खरिद गर्न शुरु गरेको छ । अहिलेसम्म एक जना पनि किसानले आप्mनो धान कम्पनीको कार्यालयमा बिक्रीको लागि लिएर आएका छैनन ।

कम्पनीले यसपालि सोना मन्सुली धान प्रति क्विन्टल ३ हजार ३ सय ६२ मूल्य तोकेको छ । जिरा मसिनो धानको मूल्य प्रति क्विन्टल ३ हजार पाँच सयमा खरिद गरिरहेको छ । सरकारी मूल्य भन्दा बढी बजारमा अहिले धान बिक्री भईरहेकोले किसानहरुले कम्पनीमा धान बिक्री गर्न आएका छैनन ।

बजारमा अहिले सोना मनसुली धानको मुल्य प्रति क्विन्टल तीन हजार ७ सयसम्म रहेको छ । सरकारले तोकेको मूल्य भन्दा बजारमा नै अहिले किवन्टलमा तीन देखि चार सय सम्म बढी मुल्य धानको पाईने गरेको छ । यसले अहिले सम्म कम्पनीको कार्यालयमा किसानहरु धान बेच्न नल्याएको खाध ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटे्ड वीरगञ्जका सूचना अधिकारी समिर दाहालले जानकारी दिए ।

पहिले सरकारको मूल्य बजार भन्दा तीन चार सय क्विन्टलमा बढी हुने गरेको थियो । यसपालि बजार मूल्य नै बढी भएपछि कम्पनीले धान खरिद गरेको सुचना दिदा पनि किसानहरु धान लिएर बिक्रीको लागि नआएको उनले बताए । किसानहरु सोध्न मात्रै आएका छन् ।

बेच्नलाई अहिलेसम्म एक जना पनि आएका छैनन् ।’धानको मुल्य बजारमा बढी भएर किसानहरु धान बेच्न नआएपछि बिभागमा पत्र लेखेर मुल्यको बारेमा जानकारी गराएको दाहालको भनाई छ ।

सरकारी कमजोरी र गलत नीतिका कारणले यसपालि धानको सरकारी मूल्य बजार मूल्य भन्दा कम भएको किसान हकहित सँघर्ष समिति पर्साका अध्यक्ष सहरुम गदीले साझेदारी दैनिकलाई जानकारी दिए ।

कम्पनीले सधै जसो ढिलो गरेर धान खरिद गर्ने गरेको अधिकाँश किसानहरुले आफनो धान बेचिसकेपछि मात्रै सरकारले खरिद गर्ने गरेको उनले बताए । सरकारले समयमै खरिद नगर्दा प्रया जसो केही समय पहिलेसम्म किसानहरुले दुई हजार सात सय प्रति क्विन्टलमा धान बेचेको गदीको भनाई छ ।

कम्पनीको वीरगञ्ज स्थित कार्यालयले यसपालि हालसम्मकै सबै भन्दा बढी ३७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने कोटा पाएको छ । किसानहरु भने त्यस्को लाभ लिन सकेका छैनन् ।

कम्पनीमा घाटा लगाएर धान बिक्री गर्नु भन्दा ब्यापारीले घरमै आएर त्यो भन्दा बढी मुल्य दिने गरेको पर्साको पटेर्वा सुगौली गाउँपालिकाका किसान जगतनारायण पञ्जियारको भनाई छ ।गाउँमा नै सोना मन्सुली धान तीन हजार पाँच सयदेखि तीन हजार आठ सय सम्ममा ब्यापारीहरुले खरिद गरिरहेकाछन् ।

Leave a review