बारामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु, चालक घाइते

साझेदारी डेलि
685 पाठक संख्या

बारा । बाराको निजगढमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार साँझ निजगढ नगरपालिका–११ बम्जन टोलस्थित तपस्या स्थलको भित्री सडकखण्डमा रतनपुरबाट कोल्हवीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको हो।

मधेस प्रदेश ०३–०४१ प ००४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कोल्हवी नगरपालिका–७ दोधर्पाका २३ वर्षीय चालक जङ्गी सहनी र पछाडि सवार २४ वर्षीय राहुल सहनी घाइते भएका थिए।

दुर्घटनामा चालक जङ्गीको हात र खुट्टामा चोट लागेको थियो भने पछाडि सवार राहुलको छातीमा चोट लागेको थियो। दुवै जनालाई निजगढस्थित सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो।

थप उपचारका लागि जाने क्रममा राहुललाई पर्सास्थित गण्डक अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा आइतबार साँझ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको बाराका प्रवेश एवम् डिएसपी मीन बहादुर घलेले जानकारी दिएका छन् ।

उनका अनुसार दुर्घटनाका बेला मोटरसाइकल चालक र पछाडि सवार दुवै जनाले मादक पदार्थ सेवन गरेको पाइएको छ। घटनापछि प्रहरीले मोटरसाइकल चालक जङ्गी सहनीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय निजगढमा राखेको छ।

साथै मोटरसाइकल र कागजातसमेत अस्थायी प्रहरी पोस्ट रतनपुरको नियन्त्रणमा रहेको छ। उकत घटनाबारे थप अनुसन्धान कार्य भईरहेको डीएसपी घलेले जानकारी दिए।

Leave a review