वीरगञ्ज : वीरगञ्जमा हुने हिन्दु धार्मिक र्याली तथा रथयात्रालाई अराजकताको संज्ञा दिनेलाई कारवाही गर्न सोमबार माग गरिएको छ।
यस्तो माग गर्दै श्री गहवा माई रथयात्रा समितिले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल मार्फत समितिले गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।
वीरगञ्जमा भएको नेपाल मुस्लिम सँघको कार्यक्रममा वीरगञ्ज महानगरपालिका २ छपकैया निवासी जफर अन्सारीले धर्म सँस्कृतिलाई लक्षित गरी गहवा माई रथायत्रा तथा धार्मिक र्यालीलाई अराजकको संज्ञा दिएको ज्ञापन पत्रमा उल्लेख छ।
उक्त अभिब्यक्ति प्रति समितिको ध्यानाकर्षण भएको जनाउदै यस्तो अपमानजनक टिप्पणी गर्ने अन्सारी तथा बिरोधी तत्वहरुलाई कानुनी कारवाहीको माग ज्ञापन पत्रमार्फत समितलिे गरेको छ।
सनातन कालदेखि चलि आएको धर्म सँस्कृतिलाई संरक्षण गर्ने देशको राष्ट्रियता र संविधानलाई कुठाराघात गर्ने प्रयास भएकाले अभद्र टिप्पणी गर्ने अन्सारीलाई कानुनी कारवाहीको दायरा ल्याउनुपर्ने श्री गहवामाई रथयात्रा समितिका अध्यक्ष श्याम कुमार पोखरेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा जनाइएको छ ।
यसअघि आईतबार पनि हिन्दुबादी सँगठनले जफर अन्सारीलाई नै कारवाहीको माँग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो।


