जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले अटो,ई–रिक्सा तथा टेम्पो सञ्चालनलाई व्यवस्थित गर्न नयाँ दर्ता तथा स्टप इजाजत दिने निर्णय गरेको छ ।
नगरपालिकाले नेपाल सरकारको नीति अनुरूप सवारी साधनहरूको उचित व्यवस्थापन तथा सुरक्षित सञ्चालन सुनिश्चित गर्न यो प्रक्रिया अघि बढाएको जनाएको छ ।
उपमहानगरपालिकामा अब अटो तथा ई–रिक्साका नयाँ दर्ता तथा सञ्चालन अनुमतिका लागि निश्चित मापदण्डहरू पूरा गर्नुपर्नेछ । इच्छुक व्यक्तिले आफ्नो सवारीसाधनको दर्ता गर्न,स्वयम् उपस्थित भई निवेदन दिनुपर्ने सुचना साथै,एक व्यक्तिले एक सवारीका लागि मात्र अनुमति लिन पाउने व्यवस्था मिलाइएको छ ।
यस्तै पेट्रोल तथा डिजेल टेम्पो सञ्चालनका लागि यातायात व्यवस्था कार्यालयबाट अनुमति लिनुपर्ने भनिएको छ । आवेदन दिन इच्छुक सवारीधनीहरूले तोकिएको ढाँचामा निवेदन बुझाउनुपर्नेछ,जुन नगरपालिका कार्यालयमा निःशुल्क उपलब्ध गराइने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
नगरपालिकाले अवैध रूपमा सञ्चालनमा रहेका अटो,ई–रिक्सा तथा टेम्पोप्रति निगरानी बढाउने जानकारी गराउँदै तोकिएको मितिभित्र दर्ता नगर्ने तथा नियम उल्लंघन गर्ने सवारीधनीहरूमाथि कानुनी कारबाही गरिने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले माघ २४ गते निकालेको सुचनामा १५ दिन भित्र नियमानुसार आवश्यक कागजात सहित अटो,रिक्सा,ई रिक्सा तथा टेम्पो दर्ता तथा रुट ईजाजतको लागि निबेदन पेश गर्न अनुरोध गरेको थियो ।

