उद्योग मैत्री कानुन निर्माणका लागि सरकारले काम गरिरहेको : मन्त्री चौरसीया

रञ्जन यादव
389 पाठक संख्या

जीतपुर : कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसीयाले उद्योग मैत्री कानुन निर्माणका लागि सरकारले काम गरिरहेको बताएका छन ।

बाराको सिमरामा आइतबार उद्योग वाणिज्य संघ मधेश प्रदेशको छैठौं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री चौरसीयाले नेपालका उद्योगीले झेल्नुपर्ने कानुनी समस्यासंग आफू परिचीत रहेको बताएका हुन ।

कार्यक्रममा उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले बीरगञ्ज–पथलैया औद्यागिक करिडोरको घोषणा भएपनि कार्यान्वयन हुन नसकेकाले कानुन बनाएर उक्त घोषणालाई मुर्तरुप दिन सरकारलाई आग्रह गर्नुभयो ।

अघिल्लो मन्त्रीमण्डलमा रहेका उद्योग मन्त्री रमेश रिजालले वीरगञ्ज पथलैया क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गरेपनि नियमावली बन्न नपाउँदै मन्त्रीमण्डल परिवर्तन भएकाले उक्त घोषणा कार्यान्वयन हुन नसकेको स्मरण गराउँनुभयो ।

बीरगञ्ज नाकाबाट नेपालको औद्योगिक तथा पर्यटन क्षेत्रलाई भारतसंग जोड्न सकिने प्रशस्तै सम्भावना हुँदाहुँदैपनि सरकारले यसलाई वे–वास्ता गरिरहेको भन्दै अध्यक्ष टेमानीले बीरगञ्ज नाकाबाट भारतसंगको कनेक्टिभीटीलाई ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

अत्यावश्यक सरकारी कार्यालयको सेवा बीरगञ्जमा स्थापना गर्ने सम्बन्धमा सरकारले चासो नदेखाएको भन्दै अध्यक्ष टेमानीले उद्योगीका लागि अत्यावश्यक राजश्व न्याधिकरणको कार्यालय, कम्पनी राजिष्टारको कार्यालय,ठुला करदाताको कार्यालय र श्रम अदालत जस्ता कार्यालय स्थापनामा ध्यान दिन सरकारलाई आग्रह गरे ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले उधारो उठाउन नसक्दा उद्योगी पलायन हुनुपर्ने अवस्था आएको भन्दै सो सम्बन्धमा कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँनुभयो ।

मधेश प्रदेशका आठवटै जिल्लाका उद्योग वाणीज्य संघका प्रतिनिधि सहभागि सभामा बीरगञ्जका उद्योगी गणेश लाठले वीरगञ्जको सुख्खा बन्दरगाहमा रहेको एक्सरे मेशीनको उपयोग नहुँदा भन्सार तथा जाँचपासमा उद्योगीले समस्या झेल्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराउँनुभयो ।

कार्यक्रममा भारतीय वाणिज्य दुत सतिश पटापु,प्रतिनिधि सभा सदस्य अच्युत मैनाली,मधेशका पूर्व मुख्य मन्त्री लालबाबु राउत गद्दी,मधेश प्रदेश उद्योग विभागका महानिर्देशक रिमा साह, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,वीरगञ्ज भन्सारका प्रमुख दिपक लामिछाने लगायतले हालको आर्थिक अवस्था तथा उद्योगीका समस्या बारेमा आफ्नो धारणा राखेका थिए ।

Leave a review

This will close in 0 seconds