बारागढीमा ‘आर्थिक अवसर अभिवृद्धि परियोजना’ शुरु

साझेदारी दैनिक
336 पाठक संख्या

बारागढी : बारा जिल्लाको बारागढी गाउँपालिकामा सीमान्तकृत दलित तथा पछाडि पारिएका समुदायका लागि लक्षित ‘आर्थिक अवसर अभिवृद्धि परियोजना’ सुरु भएको छ।

बारागढी गाउँपालिकाको सभा हलमा बुधबार आयोजित उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख अशोक जायसवालले जग्गाविहीन समुदायका लागि लिजमा जग्गा उपलब्ध गराउन पालिकाले सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै भने, “सीमान्तकृत समुदायको आयआर्जनमा सकारात्मक रूपान्तरण ल्याउने यस्ता कार्यक्रम अत्यन्तै आवश्यक रहेको बताएका छनन्।

त्यस्तै उपमेयर लक्ष्मी देवी रायले बालबालिका,महिला र युवाहरूका लागि स्वरोजगारमा पहुँच बढाउने लक्ष्यमा यो कार्यक्रम महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गरिन्।

दलित जनजाति उत्थान केन्द्र बाराको आयोजनामा तथा चाइल्ड हेड नेटवर्कको सहकार्यमा सुरु गरिएको यस परियोजनाले सीपमूलक तालिम,स्वरोजगार,कृषि उद्यम र लघु व्यवसायमा स्थानीयस्तरमा अवसर निर्माण गर्ने लक्ष्य लिएको छ।

सो अवसरमा बोल्दै दलित उत्थान केन्द्र बारा का कार्यकारी निर्देशक ओमप्रकाश ठाकुरका अनुसार परियोजनाले प्राथमिकतामा रहेका समुदायलाई व्यावसायिक तालिम,रोजगार तथा सीप हस्तान्तरणका माध्यमबाट जीवनस्तर उकास्ने उद्देश्य राखेको छ।

चाइल्ड हेड नेटवर्कका परीयोजना अधिकृत डा. अजय कुमार कुशवाहाका अनुसार,दलित तथा सीमान्तकृत वर्गका किसान र महिला किसानहरूलाई तरकारी खेती तथा होटल व्यवसायमा सहजीकरण गरिनेछ। त्यस्तै,अपाङ्गता भएका महिला तथा पुरुषहरूका लागि ६ वटा ठेला वितरण गरिने,वैदेशिक रोजगारीबाट फर्किएका २५ जनालाई स्वरोजगारमा लगाउने तालिमसहित सहुलियत कर्जा प्रदान गरिने र १२५ जनालाई सीप हस्तान्तरण गरिने योजना रहेको जानकारी गराए।

कार्यक्रममा वडा अध्यक्षहरू,पालिका शाखा प्रमुखहरू र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो। सीमान्तकृत दलित समुदायका गरीब र अति विपन्न नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा दलित उत्थान केन्द्रका प्रतिनिधिहरू र पालिका प्रमुखहरूले दलित समुदायको समग्र उत्थानका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाए।

Leave a review

This will close in 0 seconds