वीरगञ्ज : वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको सट्टा परीक्षा दिँदै गरेको अवस्थामा आइतबार एक जना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाका २५ वर्षीय मोहम्मद अफताब हुन्। नेपाली काँग्रेसका क्षेत्रीय सभापति मोहम्मद शहाबुद्दीनका छोरा अफताबले आफ्नो बाबुको साटोमा परीक्षा दिइरहेका थिए।
मानविकी संकायको राजनीति शास्त्र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षामा सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी मोहम्मद शहाबुद्दीनको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर अफताबले परीक्षा दिइरहेको अवस्थामा अफताब पक्राउ परेका हुन्। अफताबलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बिर्ताको जिम्मा लगाइएको क्याम्पस प्रमुख मोहन यादवले जनाए।
पक्राउ परेका अफताब र नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाउने शहाबुद्दीन दुवैमाथि कारवाही हुनेछ । यादवका अनुसार उनीहरुमाथि त्रिभुवन विश्वविद्यालयको सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा २७०(क) अनुसार कारबाही हुनेछ।
अफताबलाई वडा प्रहरी कार्यालय बिर्तामा राखिएको र उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

