बारा : करिब ८ करोडको लागतमा नव निर्मित आन्तरिक राजस्व कार्यालय बारा सिमराको नया भवन उद्घाटन नहुँदै तोडफोड र आगजनीले क्षतीग्रस्त बनेको छ । भर्खरै सम्पन्न भएर सेवा प्रारम्भ गरेको आधुनिक भवन जेन जी आन्दोलनको क्रममा क्षतीग्रस्त बनेको हो ।
यस कार्यालयले बारा–रौतहटका करदातालाई विवरण दर्ता गर्ने, कर संकलन गर्ने, करदातालाई सुविधा उपलब्ध गराउने जस्ता महत्त्वपूर्ण काम गर्दै आएको थियो । तर आन्दोलनका क्रममा सम्पूर्ण कागजपत्र, फर्निचर, कम्प्युटर, ल्यापटपदेखि एसी र फ्रिजसम्म लुटपाट, तोडफोड र आगजनीका कारण नष्ट भएका छन् ।
कार्यालय प्रमुख दिनेश पाण्डेले सम्पूर्ण भौतिक सम्पत्ति जलेर नष्ट भए पनि करदाताले तिनुपर्ने कर अनलाइन प्रणालीमार्फत सुरक्षित रहेको भन्दै कुनै पनि करदाताले करबाट छुट नपाउने स्पष्ट पारे । “हामी भग्नावशेषमै नयाँ दृढ सङ्कल्पका साथ काम सुरु गर्नेछौं,“ उनले भने । भवनमा दुई दिनसम्म आगो बलिरहँदा ढलान खसेको, पिल्लर चर्किएको र सम्पूर्ण संरचना प्रयोगयोग्य नरहेको प्रारम्भिक मूल्याङ्कन देखिएको छ ।
कार्यालयले भवनको प्राविधिक क्षति मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ । भदौ २३ गते दिउँसो सामान्य तोडफोडपछि साँझ ७ बजे हतियारसहित आएको समूहले योजनाबद्ध ढंगले कागजपत्र खोजतलास गरेर जलाएको कर्मचारीहरूले बताएका छन् ।
“फाइल भण्डारण कक्ष र प्रमुखको कोठा लक्षित रूपमा तोडफोड हुनु ठूलो गिरोहको संलग्नता रहेको प्रमाण हो,“ प्रमुख पाण्डेले जनाए ।उनका अनुसार मन्त्रालय र विभागबाट उपलब्ध साधनस्रोत प्रयोग गरेर तत्काल सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ ।
करदातालाई अनलाइन प्रणालीमार्फत सेवा लिन आग्रह गरिएको छ । पाण्डेले सार्वजनिक सम्पत्तिमाथि अराजक ढंगले आक्रमण गर्नेहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने बताए । “कारबाही नभए जनताको जिउधनमा थप जोखिम र अराजक समूहको मनोबल बढ्नेछ,“ उनले चेतावनी दिए ।

