सुभाष कुमार मिश्र/
रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडप हुँदा प्रहरी तर्फ चार जना र आन्दोलनकारी तर्फ एक जना गरी पाँच जना घाइते भएको प्रहरीले बताएका छन् ।
गरुडा नगरपालिकामा ब्यापक भ्रष्टाचार भएको भन्दै प्रदर्शनकारी गदै आएका प्रदर्शनकारी र प्रहरी विच झडप भएको थियो । मेयर प्रत्यासी स्थानीय दिपक यादवको नेतृत्वमा गाउँलेहरु नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न गरुडा पुग्दा मानिसहरुको ब्यापक भिड देखेपछि नजिकै रहेका इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विरेन्द्र पासवानको कमाण्डमा सुरक्षाकर्मीहरु नगरपालिकालाई सुरक्षा दिन पुगेका बेला प्रदर्शनकारी र प्रहरी विच झडप भएको हो ।
बिगत एक महिना देखि गरुडा नगरपालिकासंग सुचना माग गर्दै आईरहेको र नगरपालिकाले सुचना दिन आलटाल गरे पछि बुधबार नगरपालिकामा ताला लगाउन पुगेको यादवको समर्थक र प्रहरी बीच झडप भएको थियो ।
नगरपालिकाको कार्यालयमा ताला लगाउन खोज्दा यादवको समुहलाई प्रहरीले रोकपछि एक्कसी प्रदर्शनकारीहरु ढुंगामुढा गरेर टिपर, मोटरसाइकल, कार्यालयको झ्यालमा समेत क्षतिपुर्याउन सुरु गरेपछि प्रहरीले चार राउण्ड टियर ग्यास प्रहार गरेपनि उनीहरु पछि हटेका थिएन ।
ढुंगामुढाबाट प्रहरी निरीक्षक पासवान घाईते भएको र अवस्था झन् उग्र भएपछि प्रहरीले १६ राउण्ड गोली फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको ईप्रका गरुडा डिएसपी छेदिलाल कामतीले जानकारी दिए ।
प्रदर्शनकारीको ढुंगामुढाबाट नगरपालिका वरिपरी रहेका सवारी साधनहरुमा क्षति भएको, प्रहरी निरीक्षक सहित चार जना प्रहरी घाइते भएको डिएसपी कामतीले जानकारी दिए ।
यसैविच प्रहरीको गोली लागेर गरुडा नगरपालिका वडा नम्वर ५ लक्ष्मिपुर गाउँका २२ बर्षिय युवक गजेन्द्र यादव घाइते भएको छ । घाईते यादवको पाखुराबाट गोली वारपार भएपछि स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल विरगंज पठाइएको एक स्थानीयले बताए ।
घाईते युवकको अवस्था सामान्य रहेको छ तर गोली लागेर नै घाइते भएको सम्बन्धमा प्रहरीले अहिले सम्म पुष्टि गरेको छैनन् । ढुंगा लागेर पनि घाइते भएको हुन सक्ने आशंका गर्दै डिएसपी कामतीले वीरगंज पुगेपछि यथार्थ कुरा आउने उनले भने । प्रदर्शनको नेतृत्व गरेका दिपक यादवसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक विरबहादुर बुढा मगरले बताए ।
प्रहरी उपरीक्षक मगरका अनुसार नगरपालिकाको मेयरले अनियमितता गरेको छ भने बसेर छलफल वा न्यायायिक ढंगबाट अघि बढ्नुपर्नेमा सरकारी सम्पत्तीलाई हानी नोक्सानी पुर्याउने अधिकार कसैलाई पनि राज्यले दिएको छैन । सरकारी सम्पत्तीको सुरक्षार्थ प्रहरीले बल प्रयोग गरेर अवस्थालाई नियन्त्रणमा लिएको बताउदै अहिले गरुडा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको तथा कुनै पनि बहानामा प्रदर्शनकारीहरुलाई नगरपालिका सम्म पुग्नका लागि पूर्ण बन्देज लगाइएको उनले बताएका हुन् ।

