सामाजिक सञ्जालमा बाराका पत्रकार रञ्जन यादवलाई गालीगलौज गरी अपशब्द प्रयोग गर्नेलाई पत्रकारका बिभिन्न संघसगठनले कारवाहीको माग गरेका छन् ।
प्रेस सेन्टर नेपालको बारा,पर्सा शाखा र मेचीमहाकाली मिडिया सोसाईटी बारा शाखाले बुधवार एक प्रेस विज्ञप्ती निकाल्दै गालीगलौज गर्दै पत्रकार यादबलाई बिभिन्न किसिमको लाञ्छना लगाउँने जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ कि सिता उप्रेती नामकी महिलालाई कारवाहीको माग गरेका छन ।
गत असार २८ गते जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका वडा अध्यक्ष सुनिल गुप्ता सहित ६ जनालाई अपराधिक उपद्रव मुद्दामा एक महिना कैद र जनही रु १ हजार जरिवाना गरेको समाचार लेखेकै आधारमा महिला उप्रेतीले फेसबुकमा पत्रकार यादबलाई नामै तोकेर ब्यक्तिगत लाञ्छना लगाउँदै गाली बेईज्जती गर्नु खेदजनक बिषय भएको भन्दै प्रेस सेन्टर नेपालको जिल्ला कार्यसमिति बाराका सचिव उमेश घलानले कारवाहीको माग गरेका छन् ।
अदालतले गरेको फैसला बिषयमा पत्रकारले समाचार लेख्दा सामाजिक सञ्जालमा अपमानजनक र अशोभनीय शब्दहरु प्रयोग गरी ब्यक्तिगत चरित्र हत्या गर्ने वडा नं.७ की सदस्य समेत रहेकी उप्रेतीबाट आम जनताले कस्तो आशा अपेक्षा गर्ने ?
समाजको सिंगो नेतृत्व गर्ने र स्थानीय सरकारको जिम्मेवार पदमा बस्ने ब्यक्तिले सामाजिक सञ्जालमा प्रयोग गरेको भाषा,शैली र शब्द मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २ को गालीगलोज सम्बन्धी कसुर तथा साईबर अपराधको कानुन समेत आकर्षित हुने हुँदा दोषीलाई हदैसम्मको कानुनी कारवाहीको माग प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमितिले पर्साका सचिव शिवनाथ यादबले जारी गर्नुभएको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै मेचीमहाकाली मिडिया सोसाईटी,बारा शाखाका अध्यक्ष भोजराज भट्टराईले जारी गर्नु भएको प्रेस बिज्ञप्तिमा जनप्रतिनिधि जस्तो ब्यक्तिबाट बारम्बार भईरहेको यस्तो हर्कत निन्दनीय हुनुको साथै प्रेस स्वतन्त्रामाथिको ज्यादतीको रुपमा ब्याख्या गर्नुभएको छ ।
प्रेस बिरोधी कार्यमा संलग्नलाई कानुन बमोजिमको कारबाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रुपमा काम गर्ने बाताबरण बनाउँन सम्बन्धित निकायसँग मेचीमहाकाली मिडिया सोसाईटीले माग गरेको छ ।
पत्रकार रञ्जन यादब प्रेस सेन्टर नेपाल बारा जिल्लाका अध्यक्ष र नेपाल पत्रकार महासंघ बाराका सह सचिव र साझेदारी राष्ट्रिय दैनिकका सम्वाददाता समेत हुन।


