एन्फा एकेडेमीका बिकलको निजगढमा शवयात्रा साहित अन्त्येष्टी

साझेदारी दैनिक
311 पाठक संख्या

निजगढ : नवराज चौलागाईं/ पहिरोमा पुरिई निधन भएका निजगढका खेलाडी विकल रेग्मीको सोमबार अन्त्येष्टि गरिएको छ । विकलको सोमबार निजगढको लालबकैया नदी किनार स्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित श्री बत्सलादेवी एन्फा एकेडेमीमा विकल प्रशिक्षणरत रहेका हुन्।

अन्त्येष्टि अघि विकलको शवलाई निजगढ नगर परिक्रमा गराईएको थियो । नगर परिक्रमा पश्चात शवलाई निजगढ वडा नम्बर ९ स्थित चाईनिज क्याम्प मैदानमा श्रद्धाञ्जलि सभाकोलागि राखिएको थियो । निजगढ फुटबल क्लबको संयोजनमा निजगढ नगरपालिकाले श्रद्धाञ्जलि सभाको आयोजना गरेको हो।

निजगढ नगरपालिकाले आयोजना गरेको उक्त श्रद्धाञ्जलि शभामा विकलको शवमा प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साह,पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, मधेश प्रदेश सभा सदस्य मिनाकुमारी लामा,निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी,उपप्रमुख सोममाया थिङ,निजगढ नगरपालिकाका पुर्व नगर प्रमुख सुरेशकुमार खनाल,पुर्व उपप्रमुख लिलादेवी लामिछाने खनाल,जिल्ला खेलकुद बिकास समिति बाराका कार्यालय प्रमुख हेमलाल श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका हुन्।

यस्तै नेपाल तेक्वान्दो संघ मधेश प्रदेशका अध्यक्ष पेमासिद्धि लामा,मधेश प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भु सिंह ठकुरी,बारा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष राजकिशोर धामी लगायत स्थानीय जनप्रतिनिधिहरुले फूलमाला सहित श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

विकलको पार्थिव शरीरमा मधेश प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भु सिंह ठकुरी र बारा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष राजकिशोर धामीले अखिल नेपाल फुटबल संघ एन्फाको झण्डा ओढाएका थिए। विकलले प्रारम्भिक फुटबल प्रशिक्षण गरेको निजगढ फुटबल क्लबको जर्सी निजगढ फुटबल क्लबका अध्यक्ष शम्भु थापा मगरले अर्पण गरेका हुन्।

असोज १२ गते मकवानपुरको ईन्द्रसरोवर गाउपालिका वडा नम्बर ३ सिस्नेरी टेकरमा आएको पहिरोमा परि श्री बत्सलादेवी एन्फा एकेडेमीमा प्रशिक्षणरत ६ जना फुटबल खेलाडीहरुको निधन भएको थियो । पहिरोमा परि निजगढका बिकल रेग्मी सहित मकवानपुरका साइमन योन्जन,अनुप घलान,दिवस बानियाँले,सर्लाहीका आदित्य बलम्पाकी र काठमाण्डौका रियान्स आचार्यको निधन भएको थियो।

अखिल नेपाल फुटबल संघले संचालन गर्ने अन्डर १३ एन्फा एकेडेमीको लागि एन्फाले छनोट गरेको सम्पूर्ण चरणहरु पार गर्दै विकल मकवानपुरको ईन्द्रसरोवर गाउपालिका वडा नम्बर ३ सिस्नेरी टेकर स्थित श्री बत्सलादेवी एन्फा एकेडेमीमा अध्ययन सँगसँगै प्रशिक्षणरत रहेकाथिए ।

विकलसँगै निजगढका अन्य ४ जना खेलाडीहरु पनि सोहि एकेडेमीमा प्रशिक्षणरत रहेका थिए । मकवानपुर स्थित उक्त बत्सलादेवी एकेडेमीमा ४० जना खेलाडीहरु प्रशिक्षणरत थिए । जसमध्ये ६ जनाको गत आश्विन ११ र १२ गते परेको अविरल वर्षाको कारण आएको पहिरोमा परि निधन भएको थियो ।

कुलेखानी जलविद्युत आयोजनाको जलाशय ईन्द्रसरोवर ताल पूर्ण रुपमा भरिएर ओभर फ्लो हुने अवस्था आएपछि गत आश्विन ११ गते शुक्रबार कुलेखानी प्रथम जलविद्युत आयोजना केन्द्रले ताल भरिएपछी ओभरफ्लो हुने तथा ड्यामको ढोका जुनसुकै बेलापनि खोल्न सकिने अवस्था आउने भएकोले कुलेखानी खोला आसपास घर भएका र बागमती नदी किनारको बस्तीका स्थानियहरुलाई समयमै सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन सूचना जारी गरेको थियो ।

ईन्द्रसरोवर तालको ड्याम खोलिदा सबैभन्दा पहिला असर पुर्याउने सिस्नेरी खोला किनारमै रहेको बत्सलादेवी एन्फा एकेडेमीको छात्रावासमा रहेका ४० जना प्रशिक्षार्थीहरुलाई छात्रावास बाट कतै लगिएन ।

शनिबार बिहान सबेरै ड्यामको ढोका खोलिएपछी सिस्नेरी खोलामा बाढी आउँदा एकेडेमीको छात्रावासमा रहेका ४० जना खेलाडी सहित प्रशिक्षकहरु सुरक्षित स्थानतर्फ भाग्ने क्रममा ६ जना खेलाडीलाई पहिरोले पुरेकोथियो ।

आश्विन १२ गते शनिबार बिहान करिब ०६ः३० बजेदेखि पहिरोमा पुरिएर हराएका ६ जनाको दिउँसो शव भेटिएकोथियो । मृतक ६ जनाको शब सहित एकेडेमीका अन्य ३० जना खेलाडी र प्रशिक्षकलाई शनिबार साँझ एन्फाले नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर काठमाडौं पुर्याएकोथियो ।

एन्फाले गत चैत्रमा मकवानपुरमा एकेडेमी संचालन गर्न श्री बत्सलादेवी माध्यमिक बिद्यालयसङ्ग सम्झौता गरेको थियो । उचित पुर्वाधार बिना भौगोलिक हिसाबले दुर्गम र आवश्यक सुविधा समेत पुर्ती हुन नसक्ने र सामान्य बिरामी हुँदा खेलाडीको उपचार गर्न उपयुक्त अस्पतालको व्यवस्था समेत नभएको स्थानमा एकेडेमी संचालन गर्दा अहिले गम्भीर क्षति व्यहोर्नुपरेको खेलाडीका अभिभावक र सरोकारवालाहरुले बताएकाछन ।

एन्फाले ४० जना प्रशिक्षार्थीहरुलाई सो एकेडेमीमा आवासीय रुपमा राखी प्रशिक्षण सहित अध्यापन गराईरहेको थियो । बत्सलादेवी एन्फा एकेडेमीमा निजगढका मात्र मृतक बिकल रेग्मी सहित ५ जना खेलाडीहरुले प्रशिक्षण लिईरहेकाथिए ।

Leave a review