स्थानीय तह उपनिर्वाचन,२०८१ मा उम्मेदवारको लागि खर्चको हद निर्धारण

साझेदारी दैनिक
250 पाठक संख्या

काठमाण्डौ : यही मंसिर १६ गते आइतवारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेद्वारको लागि आयोगले खर्चको सीमा निर्धारण गरेको छ।

आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद सापकोटाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

खर्चको हद बुधबार आयोगले निर्धारण गरेको हो। स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख,गाउँपालिकाको अध्यक्ष,उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका प्रमुख,उपप्रमुख र वडा अध्यक्ष पदहरूमा उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन,तथा स्थानीय तह निर्वाचन नियमावली बमोजिम उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोक्ने गरी आयोगबाट निर्णय भएको छ।

जसअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा सात लाख पचास हजार रुपैयाँ,उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखपदका उम्मेदवारले जम्मा पांच लाख पचास हजार रुपैयाँ,नगरपालिकाका प्रमुख तथा उपप्रमुखपदका उम्मेदवारले जम्मा चार लाख पचास हजार रुपैयाँ,गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षपदका उम्मेदवारले जम्मा तीन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखपदका उम्मेदवारले जम्मा पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन्।

त्यसैगरी महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले तीन लाख रुपैयाँ,उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख पचास हजार रुपैयाँ,नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको छ।

Leave a review

This will close in 0 seconds