पत्रकार महासंघ बारामा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने पूर्व मन्त्री श्रेष्ठको घोषणा

रञ्जन यादव
353 पाठक संख्या

बारा : पूर्वमन्त्री तथा बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले नेपाल पत्रकार महासंघ बारा शाखामा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्।

मंसिर २८ गते सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघ बारामा निर्वाचित पदाधिकारी र सदस्यलाई सम्मान गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित आफनो निवासमा शुक्रबार आयोजित कार्यक्रममा पूर्व मन्त्री श्रेष्ठले यस्तो घोषणा गरेका हुन्।

श्रेष्ठले आफ्नो स्वर्गीय बुवा केवलबहादुर श्रेष्ठको स्मृतिमा रु.एक लाखको अक्षयकोष स्थापना गरेको जानकारी दिएका छन् । उक्त अक्षयकोषबाट प्रत्येक वर्ष एक जना संचारकर्मीलाई पत्रकारिता पुरस्कार प्रदान गर्न समेत पूर्वमन्त्री श्रेष्ठले कार्यक्रममा आग्रह गरेका छन्।

यसअघि तनहुँमा समेत स्वर्गीय बुवाको नाममा उनले एक लाखको अक्षय कोष स्थापना गरेका थिए। उक्त अक्षयकोषबाट हालसम्म तनहुँमा तीन जना पत्रकार पुरस्कृत भईसकेका छन्।

पूर्वमन्त्री श्रेष्ठले पत्रकार महासंघको पूर्वाधार निर्माण र पत्रकारको हकहितका लागि आफूले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले सम्मानका लागि धन्यवाद व्यक्त गरे।

उक्त अक्षयकोषबाट प्रत्येक वर्ष पत्रकारलाई पुरस्कृत गर्ने उनले बताए। कार्यक्रमको सञ्चालन समाजसेवी शेखर भण्डारीले गरेका थिए। कार्यक्रममा बारा क्षेत्र नं.४(क) का प्रदेश सभाका प्रत्यासी सन्तोष कुशवाहाको विशेष उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds