कलैया : युनिक यादव/ नेपाल प्रिमियर लिग(एनपीएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सको खेलाडीलाई बारा जिल्लामा भव्य स्वागत गरिएको छ।
ट्रफी सहित जिल्लामा आएका खेलाडीहरुलाई विभिन्न स्थानिय तहमा खेलप्रेमीहरुले आइतबार स्वागत तथा अभिनन्दन गरेका थिए।
महागढिमाई नगरपालिकाको बरियारपुरमा अवस्थित गढिमाई मन्दिर नजिकैबाट विजय यात्रा सुरु गरिएको थियो । खेलाडीहरुले विश्व प्रसिद्द गढिमाई मन्दिरको दर्शन गरेका थिए।
कलैयामा नगर परिक्रमा गरिएको थियो । कलैया स्थित करनराज होटलबाट सुरु भएर कलैया बजारभरि परिक्रमा गरिएको थियो।
खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले बारा जिल्लाको विभिन्न स्थानबाट आएका युवाहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
मधेश प्रदेशको राजधानी जनकपुरधामबाट शुक्रवार सुरु भएको ‘ट्रफी परेड’ शनिवार महोत्तरी,सर्लाही र रौतहटमा गरिएको थियो ।
बोल्ट्सले आइतबार बारा र पर्सा जिल्लामा ट्रफी परेड सम्पन्न गरेको छ। सोमबार सिरहा र सप्तरी जिल्लामा परेड आयोजना गर्ने बताइएको छ ।


