काठ बरामद भए पनि तस्कर समातिदैनन्

राम मण्डल
429 पाठक संख्या

पर्सा जिल्लामा काठको तस्करीमा बृद्धि भएको छ ।प्रहरीले पछिल्लो समय बरामद गरेको काठको परिमाण अनुसार जिल्लामा काठको तस्करीमा बृद्धि भएको देखिएको छ ।

जिल्लामा रहेका सामुदायिक बनबाट तस्करहरुले काठको तस्करी गरिरहेका हुन् । पर्सा पर्सागढी नगरपालिका–१स्थित कोईलाभार टोलबाट मंगलबार साँझ सालको गोलिया काठ बरामद गरेको छ ।

परालको टाल भित्र राखिएको अवस्थामा सात फिट लम्बाई, मोटाई ४० इन्चको एक थान,४ फिट लम्बाई,मोटाई ३५ इन्च दुई थान र ४ फिट लम्बाई,मोटाई ३९ इन्च चार थान गरी सात थान सालको गोलिया काठ बरामद गरेको हो ।

सो काठलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले बरामद गरेको थियो ।उक्त काठलाई कारवाहीको लागिसब डिभिजन कार्यालय सखुवनिया,पर्साको जिम्मा प्रहरीले लगाएको छ ।

यसैगरी गएको १४ गते पनि सखुवा प्रसौनी गाउँपालिका–१ सथवल स्थित चौरमा लुकाई छिपाई राखेको अवस्थामा सालको काठ प्रहरीले बरामद गरेको थियो ।

प्रहरी र बन गस्तिको टोलीले ६ फिट लम्बाई र ५ फिट चौडाई भएको  सालको काठ तीन थान बरामद गरेको हो ।

सो काठलाई कारवाहीको लागि सब डिभिजन वन कार्यालय बडनिहार बुझाइएको थियो । काठ बरामद भएपनि तस्करहरु भने पक्राउ नपर्ने गरेको देखिएको छ ।तस्करहरु भने पक्राउ नपर्दा उनीहरु फेरि पनि काठको तस्करीमा संलग्न हुने गरेका छन ।

काठसँगै तस्करहरुलाई पनि समात्नको लागि डिभजन बन कार्यालयसँगै सब डिभिजन बन कार्यालय पनि लागेको डिभिजन बन कार्यालय पर्साका प्रमुख सुबास दासले साझेदारी दैनिकलाई बताए ।

उनले तस्करहरु पनि पक्राउ पर्ने गरेको तथा प्रहरी र बन गस्ति टोलीले सँयुक्त रुपमा काठको तस्करी रोक्नको लागि काम गरिरहेको दाबी गरे ।यसरी बरामद गरिएको काठहरु भने कारवाहीको लागि डिभिजन बन कार्यालयमा बुझाउने गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले बताए ।

काठको तस्करीसँगे अन्य गैरकानूनी रुपमा हुने तस्करीलाई समेत नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको उनले बताए ।

Leave a review