जीतपुर : बारामा प्रहरीले सालको चिरान काठ सहित एक पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
जिल्लाको बारागढी गाउँपालिका वडा नं. ६ हेगौलीया स्थित भित्रि सडक खण्डबाट प्रहरीको चेकिङ्ग टोलीले साल काठ ओसारपसार गरिरहेको पिकअप गाडी नियन्त्रणमा लिएको हो ।
सिसवाबाट हेगौलिया तर्फ जाँदै गरेको मधेश प्रदेश २–०३–००१ च ४१७१ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक गाडी छोडी फरार भएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिएका छन ।
ईलाका प्रहरी कार्यालय बारागढीले सो पिकअप सहितको चिरान काठलाई कोल्हबी सब डिभिजन कार्यालयको जिम्मा लगाएको छ ।
गाडी भित्र चिरान काठ प्लास्टिकको त्रिपालले छोपेर राखिएको अवस्थामा भेटिएको थियो। प्रहरी टोलीले गाडी जाँच गर्दा गाडीमा सालको काठ ३९ थान ३७.३१ क्यूफिट फेला पारेको डिभिजनल अधिकृत झाले जानकारी दिए ।
बरामद गरिएको काठलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही भईरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ । फरार भएका चालकको खोजी कार्य तीव्र पारिएको डिभिजनल बन अधिकृत झाले जनाए ।


