हत्याको आरोपमा पाँच पक्राउ

रासस
216 पाठक संख्या

काठमाडौँ : काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर,काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा सर्लाही बागमती ढुङ्गेखोलाका कैलाश खड्का,मकवानपुर हेटौँडा शिखरपानीका सुरेश तामाङ,नुवाकोट मेघाङका रोशन तामाङ, सिन्धुपाल्चोक तिपिनेका पुजा परियार र एक नाबालक रहेका छन् ।

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बागमती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०÷३५ की महिला यही फागुन २४ गते बिहान ११.५० बजे मृत फेला परेकी थिइन् ।

प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई गएको टोलीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजको हत्यामा ती व्यक्तिको सङ्लग्नता खुल्न आएकोले उपत्यका स्थित विभिन्न स्थानबाट निजलाई जिल्ला प्रहरी परिसर काठमाडौँसमेतको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

आरोपीलाई काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds