निजगढ : आर्थिक रुपले विपन्न अवस्थामा रहेका विभिन्न रोगबाट ग्रसित निजगढका चार जना बिरामीहरुलाई नेपाली काङ्ग्रेसका नेताको पहलमा सहयोग भएको छ।
कांग्रेस नेता पेमासिद्धी लामाको पहलमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। कमजोर आर्थिक अवस्थाका कारण बिरामीका परिवारहरुले आर्थिक सहयोग गरिदिन आग्रह गरे पछी नेता लामाले सहयोग संकलनका लागी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आग्रह गरेका थिए ।
स्पेनमा कार्यरत सन्जु लामाको नेतृत्वमा संकलित एक लाख रुपैयाँ नेता पेमासिद्धी लामाले बिरामीको परिवारहरुलाई हस्तान्तरण गरेका हुन्। उनले बिरामी उपचाररत अस्पताल र घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्।
काङ्ग्रेस नेता लामाले कलेजो र फोक्सोमा समस्या देखिएपछी वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत निजगढको भरतगञ्ज सिङ्गौलका रामकृष्ण कुमरलाई १० हजार एक सय रुपैयाँ हस्तान्तरण गरेका हुन्। घुडामा क्यान्सर भई पाटन अस्पताल ललितपुरमा उपचाररत निजगढ वडा नम्बर ४ कि मिरा माझीलाई ३० हजार रुपैयाँको आर्थिक सहयोग गरिएको हो।
घाटीको क्यान्सर भई बि पि कोईराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा उपचाररत निजगढको खयरघारीकी रेणुका माझीलाई १० हजार एक सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो।
ब्लड क्यान्सर रोगबाट ग्रसित भई काठमाडौको वीर अस्पतालमा उपचाररत अर्कि बिरामी निजगढको लालकी बिमला कार्कीलाई ५० हजार रुपैयाँ सहयोग लामाले हस्तान्तरण गरेका हुन्।
बिरामीको स्वास्थ्योपचारकोलागि आर्थिक समस्या रहेको देखिएपछि आर्थिक सहयोग जुटाउने उद्देश्यले वैदेशिक रोजगारमा रहेकी सन्जुको समन्वयमा उक्त रकम संकलन भएको सहयोग हस्तान्तरण गर्ने क्रममा नेता पेमासिद्धी लामाले बताए।
लामाले उक्त सहयोग रकम निजगढ वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामाको उपस्थितिमा हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण गर्ने क्रममा निजगढ वडा नम्बर ८ खयरघारी स्थित घाटीको क्यान्सर रोगबाट ग्रसित रेणुका माझीको उपचारमा वडा कार्यालयले सहयोगी भूमिका निर्वाह गर्ने वडा अध्यक्ष स्वर्ण लामाले बताए।


