पुलिसलाई हराउदै मच्छिन्द्र क्लब सेमीफाइनलमा

साझेदारी दैनिक
477 पाठक संख्या

सिमरा : जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको खेलमा विभागीय टिम पुलिस क्लबलाई हराउदै मच्छिन्द्र फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।

सिमरा खेल मैदानमा आईतबार भएको खेलमा साविक विजेता पुलिसलाई टाइव्रेकरमा हराउदै मच्छिन्द्रले सेमीफाईलनको यात्रा तय गरेको हो । मच्छिन्द्रको गोलरक्षक विशाल सुनारले टाइव्रेकरमा पुलिसको अन्तिम महत्वपूर्ण प्रहार विफल पार्दै मच्छिन्द्रलाई ४–३ गोल अन्तरको जित निकाल्न सफल भएका थिए ।

निर्धारित ९० मिनटको खेलमा बनाएको शुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल प्रहरीको विभागिय टोली प्रतियोगिताबाट बाहिरियो ।

पुलिसले विवेक पाण्डेको फ्रिकिक गोलबाट दोश्रो हाफको शुरुवातमै अग्रता बनाएको थियो । डिबक्स बाहिर मच्छिन्द्रका रेजिन सुब्बाले पुलिसका प्रज्वल चौधरीलाई फाउल गरेपछि पुलिसले फ्रिकिक प्राप्त गरेको थियो । करिब २५ यार्ड परबाट विवेक पाण्डेले प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो ।

खेलको ६१ औं मिनटमा उत्कृष्ट पुनरागमन गर्दै मच्छिन्द्रले खेल आफ्नो पक्षमा पा¥यो । अरुण गाहाको प्रहारलाई पुलिसको डिबक्स भित्र नियन्त्रणमा लिंदै अनिल रानामगरले दिएको सर्ट पासलाई राजिव लोप्चनले गोलमा परिणत गरेका थिए ।

मच्छिन्द्रको बराबरी गोलपछि खेलको अन्तिम चरणमा टाइव्रेकरमा परिणत भएको हो । मच्छिन्द्रका लागि गोलरक्षक विशाल सुनार,विपन श्रेष्ठ,अशिम गुरुङ्ग र पुजन श्रेष्ठले गोल गरेका थिए भने विवेक राईको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरिएको थियो ।

पुलिसका लागि गोलरक्षक अमित टमाटा,पुजन राई र कप्तान मानबहादुर परियारले गोल गरेका थिए । पुलिसका विवेक पाण्डेको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरिएको थियो भने अरुण गाहाको प्रहार मच्छिन्द्रका गोलरक्षकले पञ्च गर्दै बाहिर पठाएपछि मच्छिन्द्रले जित निकालेको थियो ।

आइतबारको खेलमा मच्छिन्द्रका गोलरक्षक विशाल सुनार खेलमा म्यान अफ दि म्याच बने । प्रतियोगिता अन्तर्गत आज सोमबारको अन्तिम क्वाटर फाइनलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब भिड्ने आयोजकले जनाएको छ ।

Leave a review