रौतहटको दुई ठाउँमा भीषण आगलागी,झन्डै २ करोड बराबरको क्षति

साझेदारी दैनिक
881 पाठक संख्या

रौतहट । ओम प्रकाश यादव/ रौतहटको छुट्टाछुट्टै दुई ठाउँमा भएको भीषण आगलागीबाट करोडौंको क्षति भएको छ।

शुक्रबार राति जिल्लाको सदरमुकाम गौर र भारतीय सीमासँग जोडिएको बौधिमाई नगरपालिकाको कोपवा गाउँमा भएको आगलागीबाट झन्डै दुई करोड रुपैयाँ बरावरको धनमाल जलेर नष्ट भएको छ।

गएराति ९ बजेको समयमा गौर कबिर चोक स्थित स्थानीय कृष्णनन्दन पेटलको घरमा आगलागी भएको थियो।

बास र खरले छाएको पटेलको कच्ची घरमा रातिको समयमा अचानक आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरमा राखिएको विभिन्न सामान जलेर खरानी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट घर सहित बिग्रेर मर्मतका लागि राखिएको ५ थान मोटरसाइकल,एक थान पानी तान्ने मोटर लगाएतका विभिन्न सामान जलेर नष्ट हुँदा करिब २१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा डीएसपी दीपक कुमार रायले जानकारी दिएका छन्।

आगलागी कसरी भयो भन्ने कुरा खुल्न सकेको छैन ।

यस्तै राति नै बौधिमाई नगरपालिका-५ कोपवाका धर्मेन्द्र जयवालको ३ तल्ले पक्की घरको अन्डर ग्राउन्डमा रहेको गोदाम घरमा आगलागी भएको छ।

गएराति साढे ८ बजेको समयमा पीडित जयसवालको गोदाममा अचानक विद्युत तार सर्ट भएर भीषण आगलागी हुँदा करोडौं मूल्य बराबरको रेडिमेड कपडा, मोटरसाइकल लगाएतका सामान जलेर नष्ट भएको छ।

आगलागीबाट ३ तल्ले घर सहित गोदाममा रहेको १ करोड मूल्य बराबरको कपडा र चप्पल,एक थान मोटरसाइकल गरी कुल १ करोड ७६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रायले बताए।

दुवै घरमा गरी १ करोड ९७ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।दुवै ठाउँको आगलागीलाई स्थानिय प्रहरी,गौर नगरपालिकाको दमकल,बौधीमाईको दमकल र गाउँलेहरु मिलेर तुरुन्त नियन्त्रणमा लिन सफल भएका थिए।

आगलागीलाई समयमै नियन्त्रणमा लिइएका कारण थप क्षती हुनबाट जोगिएको थियो। आगलागीबाट भौतिक क्षती भएपनि मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

अहिले सुख्खा मौसम अर्थात गर्मी याम सुरु भएकोले जतिखेर पनि आगलागीको घटना हुन सक्ने भएको हुँदा आगो बाल्दा आवस्यक सतर्कता अपनाउन रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले सबैलाई आग्रह गरेका छन्।

गर्मीको महिना सुरु भएसंगै रौतहटमा आगलागीको घटनमा वृद्धि भएको छ।

Leave a review

This will close in 0 seconds