गरुडा : रौतहटका सामुदायिक विद्यालयहरुमा अध्ययन अध्यापन प्रभावकारी नहुदा विद्यार्थी न्यून हुँदै गएको छ । पछिल्ला बर्षहरु भन्दा यो बर्ष रौतहटमा चन्द्रपुर नगरपालिकामा रहेका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गइरहेको छ ।
धेरै विद्यालयहरुमा विद्यार्थीहरुको संख्या न्युन हुदै गएपछि चन्द्रपुर नगरपालिकाले तह घटाउनुका साथै विद्यालय गाभ्ने कार्यको शुरुवात गरेको छ ।
शिक्षक आवश्यकता भन्दा बढी भएकाले चन्द्रपुर नगरपालिका भित्रका तीन वटा सामुदायिक विद्यालयको शैक्षिक तह घटाउने तथा एक विद्यालयलाई अर्को विद्यालयमा समायोजन गर्ने निर्णय चन्द्रपुर नगरपालिकाले गरेको छ ।
नगरपालिकाको नगर शिक्षा समितिको सम्पन्न बैठकले चन्द्रपुर–२ जुडिबेला असनवामा रहेको निम्न माध्यमिक विद्यालय,बसन्तपुरको बसन्त आधारभूत विद्यालय र बडहरवाको जनता प्राथमिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएकाले कक्षा १–८ सम्म अध्यापन गराउदै आएकोमा यस शैक्षिक सत्र शैक्षिक तह घटाउने निर्णय गरेको पालिकाले जनाएको छ ।
तीन विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म मात्र अध्यापनको अनुमति दिइने निर्णय गरिएको चन्द्रपुर नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले साझेदारी दैनिकलाई जानकारी दिए । त्यसैगरी जनप्रिय प्राथमिक विद्यालय नयाँटोल पडहरियालाई श्रीकृष्ण माध्यमिक विद्यालयमा गाभ्ने निर्णयसमेत गरिएको समेत शिक्षा शाखा प्रमुख मण्डलले बताएका छन ।
विद्यार्थी संख्या लगातार घट्नु र शिक्षक दरबन्दी आवश्यकता भन्दा बढी भएकाले विद्यालय समायोज गर्नु परेको प्रमुख मण्डलको भनाई छ । शिक्षक व्यवस्थापन ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ भन्ने मान्यताका आधारमा गरिने उनले बताएका छन ।
यसैगरी चन्द्रपुर नगर शिक्षा समितिका अनुसार विद्यालय तह घटाइएपछि शिक्षक संख्या पनि घटाइने जनाएको छ। शिक्षकहरूलाई समायोजन गरी आवश्यकता अनुसार अन्य विद्यालयमा खटाउने वा दरबन्दी घटाउने प्रक्रिया अघि बढाइने जनाईएको छ ।
तर यता विद्यालयहरुलाई सुधार गर्दै लैजानुको सट्टामा विद्यालय तह घटाउने र गाभ्ने नगरपालिकाको निर्णय उपयुक्त नभएको अभिभावकहरुले गुनासो गरेका छन ।

