परवानीपुर : पर्सा जिल्लाको परवानीपुरमा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था सेवाग्राहीको बचत रकम फिर्ता नगरेको आरोपमा मुछिएको छ। सेवाग्राहीहरूले वर्षौंदेखि गरेको बचत फिर्ता नपाउँदा आक्रोशित बनेका छन् ।
सहकारीका अध्यक्ष राजाबाबु कुश्वाहा प्रहरी नियन्त्रणमा परेका छन्। सेवाग्राहीहरूका अनुसार उनीहरूले दुःख, पसिनाले कमाएको रकम सहकारीमा बचत गर्दै आएका थिए। तर,बारम्बार रकम फिर्ता माग्दा पनि कुश्वाहाले विभिन्न बहानामा टार्दै आएका थिए। कतिपयलाई “तपाईंको नाममा कुनै बचत छैन“ भन्दै धम्क्याउने गरेको पीडितहरूको आरोप छ ।
जीतपुरका एक बचतकर्ता उमेश महतोले आफुले सहकारीसँग बचत रकम फिर्ता लिनुपर्ने अवस्था भएपनि सहकारीका अध्यक्ष कुश्वाहाले तिम्रो कुनै बचत रकम नभएको ,तिम्रो सबै रकम तिरिसकेको भन्दै झुठो बोलिरहेको दुखेसो गरे ।
त्यस्तै रजघट्टा घर भएका जीतपुरमा रेडिमेड पसल भएका अर्का सहकारी पिडित प्रेम अचार्यले सहकारीसँग बचत गरेको पैसा माग्न जाँदा गालीगलौज गर्ने र हातपात गरेको आरोप लगाए ।
बिरगंज महानगरपालिका वडा नं.२१ परवानीपुर बस्ने राजन कुश्वाहाले जिल्ला प्रशासन कार्यालय पर्सा,जिल्ला प्रहरी कार्यालय पर्सा ,ईलाका प्रहरी कार्यालय परवानीपुरमा पनि आफनो बचत रकम सहकारीबाट फिर्ता गराउँन निबेदन दिएपनि अहिले सम्म आफुले न्याय नपाएको उनले आफनो पिडा पोखे ।
त्यस्तै परवानीपुरकै सकरुदिन मिया धोबीले सहकारीमा गएर अध्यक्ष कुश्वाहासँग पैसा माग्दा आफुहरुको बचत रकम फिर्ता नगरेर उल्टै गाली गलौज गरेर पठाउने गरेको बताए ।आफ्नो छोरीको बिवाहको दिन नजिक आईपुग्दा पनि सहकारी बचत रकम फिर्ता नगरिदिँदा आफनो चिन्तित बनेको बताए ।


