देशभरका आठ ट्राफिक प्रहरी कार्यालयमध्ये मधेस प्रदेशको पथलैया कार्यालय कार्यसम्पादन मूल्याङ्कनमा पहिलो

सन्तोष पाण्डे
314 पाठक संख्या

बारा । नेपाल प्रहरीका सातै प्रदेशका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय गरी आठवटा कार्यालयमध्ये मधेस प्रदेशको पथलैयास्थित कार्यालय कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थान हासिल गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूको २०८३ साल कात्तिक महिनाको कार्यसम्पादन मूल्याङ्कनमा पथलैया कार्यालयले पहिलो स्थान हासिल गरेको हो। उक्त नतिजासँगै कार्यालय ‘क’ श्रेणीमा समेत परेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेस प्रदेश,पथलैयाका प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतको नेतृत्वमा कार्यालयले यो उपलब्धि हासिल गरेको हो।

मूल्याङ्कन सूचीअनुसार अत्तरियास्थित कार्यालय दोस्रो स्थानमा रहेको छ भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ तेस्रो स्थानमा रहेको छ। त्यसैगरी बुटवल, सुर्खेत, इटहरी, रामनगर र बेलचौतारा कार्यालय क्रमशः पछिल्ला स्थानमा रहेका छन्।

पथलैया कार्यालयले पछिल्ला तीन महिनाको कार्यसम्पादनमा निरन्तर सुधार गर्दै आएको छ। भदौ महिनामा छैटौँ स्थानमा रहेको कार्यालय असोजमा तेस्रो स्थानमा उक्लिएको थियो भने कात्तिक महिनामा अन्य सातवटा कार्यालयलाई पछि पार्दै पहिलो स्थान हासिल गर्न सफल भएको हो।

तीन महिनाको अवधिमा छैटौँ स्थानबाट तेस्रो हुँदै पहिलो स्थानमा पुग्नुले कार्यालयको कार्यसम्पादनमा भएको उल्लेखनीय सुधारलाई देखाएको छ।

यसैगरी कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले पनि पाँचौँ स्थान हासिल गरेको छ।

Leave a review