पर्सामा गस्ती टोलीले घम्साघम्सी गरेर दुई ‘नामुद तस्कर’ पक्राउ

रञ्जन यादव
445 पाठक संख्या

पर्सा : पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा शनिबार राति अवैध काठ तस्करीमा संलग्न दुई जना तस्करलाई सालको काठसहित वन गस्ती टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–४ पसरामपुर निवासी ३० वर्षीय अब्दुल्लाह देवान र वीरगञ्ज महानगरपालिका–३१ निवासी ४१ वर्षीय शेष गुलमहम्मद रहेका छन्।

सब डिभिजन वन कार्यालय सबैयाबाट रेञ्जर भुपाल रोकायको नेतृत्वमा खटिएको टोलीले राति करिब १ बजे गस्तीको क्रममा पर्सागढी–४ स्थित जंगल क्षेत्रमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ गर्ने क्रममा रेञ्जर रोकायसँग अब्दुल्लाह देवानले धक्का–मुक्का गर्दै भाग्न प्रयास गरेका थिए। यद्यपि, सबैयाका साथै बढ्निहार सब डिभिजन वन कार्यालयबाट आएको थप गस्ती टोलीको सहकार्यमा ती दुईलाई नियन्त्रणमा लिइएको थियो। उनीहरूसँगै रहेका अन्य दुई जना भने अँध्यारोको मौका छोपेर फरार भएका छन्।

गस्ती टोलीका अनुसार ती तस्करहरूले चार थान साइकलमा चार थान सालका काठका गोलिया लोड गरेर स्याउलाको पातले छोपेर लुकाएका थिए। बरामद काठको परिमाण करिब ३५ क्युबिक फिट रहेको बताइएको छ ।

फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको रेञ्जर रोकायले जानकारी दिएका छन्।पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय वीरगञ्ज पठाइएको छ । बरामद काठको गोलियालाई सबैया सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको छ ।

तस्करी नियन्त्रणका लागि चेकजाँच र निगरानी तीव्र बनाएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिएका छन । उनले यस सम्बन्धमा थप अनुसन्धान भईरहेको बताए ।

Leave a review

This will close in 0 seconds