बकुलियामा २० औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस सम्पन्न

रञ्जन यादव
79 पाठक संख्या

बारा । “जातीय भेदभाव तथा छुवाछुतको अन्त गरौँ, समानतामूलक समाजको निर्माण गरौँ” भन्ने मूल नारासहित २० औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८३ जीतपुरसिमरा उपमहानगरपालिकामा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना तथा नगरस्तरीय सर्वदलीय दलित समाज जीतपुरसिमराको सहजीकरणमा वडा नं.५ मा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियामा आयोजित कार्यक्रममा नगर उपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि बारा क्षेत्र नं. ४ (क) का प्रदेशसभा सदस्य देवनारायण चौधरी रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरे पनि व्यवहारिक रूपमा अझै पनि समाजमा जातीय विभेद र छुवाछुतका घटनाहरू देखिने गरेको उल्लेख गर्नुभयो। उहाँले यस्ता कुरीति अन्त्यका लागि राज्य, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो। अध्यक्षीय मन्तव्य राख्दै उपप्रमुख अधिकारीले जातीय विभेदमुक्त समाज निर्माण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो।

उहाँले स्थानीय तहले दलित समुदायको अधिकार संरक्षण, सामाजिक न्याय तथा समावेशी विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।कार्यक्रममा जनप्रतिनिधि, दलित अगुवा, दलित महिला ,सामाजिक अभियन्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सहभागीहरूले जातीय भेदभाव तथा छुवाछुत सामाजिक अपराध भएकाले यसको पूर्ण अन्त्यका लागि जनचेतना अभिवृद्धि, शिक्षा तथा कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरिएको उपमहानगरपालिकाको महिला बिकाश अधिकृत सिमा यादबले जानकारी दिईन् । दिवसको अवसरमा जातीय विभेदविरुद्ध सचेतनामूलक मन्तव्य, अन्तरक्रिया तथा प्रतिबद्धता व्यक्त गर्ने कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले समानता, सामाजिक सद्भाव, मानव अधिकार र सामाजिक न्यायको सुनिश्चिततामार्फत मात्र समुन्नत र सभ्य समाज निर्माण सम्भव हुने बताएका थिए।कार्यक्रमको अन्त्यमा जातीय भेदभाव तथा छुवाछुतमुक्त समाज निर्माणका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Leave a review

This will close in 0 seconds