कलैया: नवरात्रको पाँचौ दिन तिथिको घटबढले शुक्रबार पनि बारामा कुष्माण्डा देवीको पूजा आराधना गरिएको छ। जिल्लाको १६ पालिकामा हिन्दु्धर्मावलम्बीहरुले कुष्माण्डा देवीको पूजा गरेका हुन ।
शुक्रबार असोज शुक्ल चतुर्थी तिथि परेकाले दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गरिएको हो । नवदुर्गामध्येकी कुष्माण्डा देवीको चौथो दिन र पाँचौं देवी स्कन्दमाताको पाँचौं दिन पूजा आराधना गर्ने गरिन्छ।स्कन्दमाताको भने पूरा आराधना भने आश्विन शुक्ल पञ्चमी अर्थात शनिबार गरिँदैछ ।नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् । नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा जिल्लाका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

