रौतहटमा केवाईसी अपडेटको बहानामा ५० लाख ठगी, तीन पक्राउ

Subash Kumar Mishra
48 पाठक संख्या

रौतहट । बैंक तथा डिजिटल वालेटको ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्ने बहानामा सर्वसाधारणको रकम ठगी गरेको आरोपमा रौतहट प्रहरीले दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा २२ वटा उजुरीबाट मात्रै ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार गौरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा भारतको सीतामढी जिल्लाका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।

पीडितको उजुरीपछि खटिएको प्रहरी टोलीले असोज २३ गते गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नम्बर ५ को कोइरी टोलस्थित उनीहरू बस्ने कोठामा छापा मारेको थियो। सो क्रममा तीनै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आरोपीहरूले बैंक वा डिजिटल वालेटका कर्मचारी भएको परिचय दिँदै सर्वसाधारणलाई फोन गर्ने गरेका थिए। केवाईसी अद्यावधिक नगरे बैंक खाता बन्द हुने डर देखाएर उनीहरूले पीडितबाट रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले आरोपीहरूको साथबाट एक लाख ६२ हजार रुपैयाँ नेपाली नगद, सात थान मोबाइल फोन, ११ थान सिमकार्ड र ३० थान बैंकिङ भौचर बरामद गरेको छ। ठगीमा प्रयोग गरिएको भनिएका फोन संवादका नमुना तथा हिसाबकिताब लेखिएका डायरीसमेत फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी रिजालले बताए। घटनामा संलग्न हुन सक्ने अन्य व्यक्ति तथा मुख्य योजनाकारको खोजी भइरहेको पनि उनले जानकारी दिए।

यस घटनापछि प्रहरीले बैंकिङ विवरणको सुरक्षामा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। अपरिचित व्यक्तिले फोन गरेर मागेमा ओटीपी, पिन तथा पासवर्ड उपलब्ध नगराउन र मोबाइलको स्क्रिन सेयर नगर्न प्रहरीले सचेत गराएको छ।

बैंकिङ विवरणका नाममा शंकास्पद फोन आए सम्बन्धित बैंक वा वालेटको आधिकारिक माध्यमबाट पुष्टि गर्न तथा ठगीमा परे तत्काल प्रहरीलाई जानकारी दिनसमेत अनुरोध गरिएको छ।

Leave a review