सिमरा सानाकिसान सहकारीको ११ औं वार्षिक साधारणसभा सम्पन्न

रञ्जन यादव
265 पाठक संख्या

जीतपुर । साना किसान कृषि सहकारी संस्था सिमराको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

७३ वर्षीया एक ज्येष्ठ नागरिक माया पुडासैनीले साधारण सभाको उद्घाटन गर्नुभएको थियो। संस्था स्थापना हुँदा ४३ जना शेयर सदस्यबाट सुरु भएकोमा हाल संस्थामा १,४९३ जना शेयर सदस्य पुगेका छन्।

संस्थाले गत आर्थिक बर्ष २०८१।०८२ मा ४२ लाख ५९ हजार ९ सय ४३ रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ। सो नाफाबाट शेयर सदस्यहरूलाई १२ प्रतिशत शेयर लाभांश र २ प्रतिशत संरक्षित कोषमा रकम विनियोजन गरिने संस्थाकी अध्यक्ष कमला कुमारी रिमालले जानकारी दिईन् ।

अध्यक्ष रिमालका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि संस्थाले विभिन्न उद्देश्यका ऋण लगानी, चेतनामूलक कार्यक्रम, रासायनिक मल खरिद–बिक्री, कृषि उत्पादन तथा वितरण, दुग्ध, डेरी, मसला पिस्ने उद्योग लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

सहकारी संस्थाले यो आबमा ४५ करोड १ लाख ६५ हजार रुपैयाँको आर्थिक कारोबार र २ करोड ९५ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य लिइएको बताइएको छ। संस्थाले “सुखी सदस्य, समृद्ध संस्था” भन्ने नारासहित गत आर्थिक वर्ष २०८०/०८१ देखि ऋण बीमा योजना, दुई बच्चासम्म पाउने सुत्केरी महिला सदस्यलाई १,००० रुपैयाँ प्रोत्साहन र प्रति बच्चा १०० रुपैयाँमा खाता खोल्ने योजना सञ्चालन गरेको छ।

साथै पेन्सन योजना, सदस्य सुरक्षा, बालबचत, श्रीमान–श्रीमती बचत, वैदेशिक रोजगार र अध्ययनमा लगानी, महिला उद्यमी कर्जा तथा युवा रोजगार कर्जा जस्ता कार्यक्रम पनि सञ्चालन गर्दै आएको अध्यक्ष रिमालले बताईन।

सधारण सभामा अध्यक्ष रिमालले संस्थाको प्रतिबेदन ,कोषाध्यक्ष पुनम देबी महत्तोले आर्थिक प्रतिबेदन ,संस्थाका सहजकर्ता कुलोत्तम पोख्रेलले आर्थिक कारोबारको प्रतिबेदन र लेखा सुपरिवेक्षण समितीका संयोजक किशोर शर्माले लेखा समितीको प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रमको संचालन सहजकर्ता पोख्रेलले गरेका थिए ।

Leave a review

This will close in 0 seconds