ढलासुस्ती गर्ने ठेकेदारलाई जीतपुरसिमराको सात दिनको अल्टिमेटम

रञ्जन यादव
283 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले तोकिएको समयमा काम सुरु नगर्ने निर्माण कम्पनीहरूलाई सात दिनभित्र काम सुरु गर्न अल्टिमेटम दिएको छ ।

सार्वजनिक सूचना जारी गर्दै उपमहानगरपालिकाले ती कम्पनीहरूलाई सात दिनभित्र संशोधित कार्य–तालिका पेश गरी तत्काल काम प्रारम्भ गर्न निर्देशन दिएको हो।

निर्माण कार्यमा देखिएको ढिलासुस्ती र लापरवाहीले विकासका योजनामा प्रतिकूल असर पर्न थालेको उपमहानगरपालिकाले जनाएको छ। समयमै काम प्रारम्भ नगर्ने कम्पनीहरूमाथि अब प्रचलित सार्वजनिक खरीद ऐन र नियमावलीअनुसार कारबाही अघि बढाइने चेतावनी उपमहानगरपालिकाको पुर्बधार बिकाश महाशाखा प्रमुख ईन्जिनीयर अभयकान्त झाले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाका अनुसार वडा नं. १९ मा वडा कार्यालय भवन निर्माण, वडा नं. १६ सखुवाघाटमा विद्यालय भवन (ट्रस निर्माण) र वडा नं. ४ मा सामुदायिक भवन अगाडिको कल्भर्ट तथा बाटो निर्माणजस्ता योजनाहरूमा काम ढिलो भइरहेको छ। यी योजनाहरूमध्ये वडा भवन निर्माण र ट्रस निर्माण कार्य साम्राट निर्माण सेवा, बाराले र एस एण्ड बी कन्स्ट्रक्सन, पर्साले कल्भर्ट तथा बाटो निर्माणको ठेक्का पाएका छन् ।

विकास निर्माणमा पारदर्शिता, समयपालना र गुणस्तरीयता सुनिश्चित गर्न सबै सरोकारवालाको सहयोग अपेक्षा गर्दै भविष्यमा यस्ता लापरवाही नदोहर्याउन ठेकेदार कम्पनीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न नगर प्रमुख राजन पौडेलले आग्रह गरेका छन् । यसभन्दा अगाडि पनि जीतपुरसिमरा उपमहानगरपालिकाले एन.के.कन्स्ट्रक्स प्रा.लि, पर्सा , डि.एण्ड डि.कन्स्ट्रक्सन बारा ,धिरज निर्माण सेवा, रौतहट ,श्री बजरङ्ग कन्स्ट्रक्स, जसौली निर्माण सेवा, पर्सा, मकवानपुर कन्स्ट्रक्सन प्रा.लि.र जय शम्भु भोलेनाथ कन्स्ट्रक्सन, मकवानपुर गरी साँत वटा कम्पनीहरुलाई साँत दिने अल्टिमेटम दिईसकेको छ ।

Leave a review

This will close in 0 seconds