डुमरवाना । बाराको डुमरबानमा आयोजित आठ दिने योग कक्षा सफलतापूर्वक सोमबार सम्पन्न गरिएको छ।
डुमरवाना स्थित राष्ट्रिय बिभुति सामुदायिक शिक्षा सदनमा आयोजित उक्त योग कक्षा विद्यालयका विद्यार्थीहरूलाई स्वस्थ जीवनशैलीप्रति प्रोत्साहित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो ।
योग कक्षामा प्रशिक्षक मिलिक श्रेष्ठले विभिन्न योग अभ्यासहरू गराएका थिए।सहायक प्रधानाध्यापक किशोर श्रेष्ठका अनुसार विद्यालयको पाठ्यक्रममै योगसम्बन्धी विषय समावेश भएकाले विद्यार्थीसम्म त्यसको व्यवहारिक ज्ञान पुर्याउन योग कक्षा आयोजना गरिएको बताए ।
उनका अनुसार, नियमित योग अभ्यासले विद्यार्थीहरूको स्वास्थ्य सुदृढ हुनुका साथै स्मरणशक्ति तथा एकाग्रता वृद्धि हुने भएकाले यस्तो पहल उपयोगी बन्ने विश्वास लिइएको छ।
विद्यालयका अध्यक्ष विदुर खड्काले आधुनिक जीवनशैलीको तीव्र गतिमा स्वास्थ्य जोगाउन सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै योग अभ्यासले रोग लाग्नु अघि नै शरीरलाई सक्षम र स्वस्थ राख्ने उल्लेख गरे। ‘‘बिरामी भएपछि मात्र उपचार गर्नुभन्दा बिरामी हुन नदिनु नै श्रेष्ठ उपाय हो,’’उनले बताए।
योग प्रशिक्षक मिलिक श्रेष्ठले आफ्नै जीवनको उदाहरण प्रस्तुत गर्दै योग अभ्यास सुरु गर्नु अघि आफू विभिन्न रोगबाट पीडित रहेको र चिकित्सकले शल्यक्रिया गर्ने सुझावसमेत दिएको स्मरण गरे।
तर, निरन्तर योग अभ्यासका कारण सबै समस्या कम हुँदै गएर स्वस्थ जीवनमा फर्किन सफल भएको अनुभव सुनाउँदै उनले स्वस्थ र सन्तुलित जीवनशैलीका लागि योग अत्यावश्यक रहेको बताईएको छ ।
विद्यालयले आगामी दिनमा पनि यस्ता स्वास्थ्य–केन्द्रित कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने बिद्यालयका प्रधानाध्यापक सागर ठाडा मगरले जानकारी गराएका छन ।

