नेरामावि सिमराको ६८ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

रञ्जन यादव
279 पाठक संख्या

जीतपुर : नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (नेरामावि), सिमराको ६८ औँ वार्षिकोत्सव बिहीबार उद्घाटन गरी शुक्रबार विविध कार्यक्रमसहित सम्पन्न भएको छ। औपचारिक समारोह, विज्ञान प्रदर्शनी, फुड फेस्टिभल र पूर्व विद्यार्थी भेला कार्यक्रमका मुख्य आकर्षण थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल प्रमुख अतिथि थिए। नगरप्रमुख पौडेलले नेरामावि सिमरालाई उपमहानगरपालिकाको शैक्षिक पहिचानका रूपमा स्थापित भएको र गुणस्तरीय शिक्षा तथा सक्षम जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिइरहेको बताए। उनले स्थानीय सरकारले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उपप्रमुख भोला प्रसाद अधिकारीले कक्षा ११ र १२ सञ्चालन गर्ने बाराको पहिलो विद्यालय नेरामावि सिमरा भएको स्मरण गराउँदै, विद्यालयले स्थानीय विद्यार्थीलाई अध्ययनका लागि वीरगञ्ज जानुपर्ने बाध्यता हटाएको बताए। विद्यालयमा वार्षिक १ लाख ५० हजार रुपैयाँ अनुदानबाट उच्च माध्यमिक तह सञ्चालन भइरहेको जानकारी दिइयो। पूर्व विद्यार्थी भेलामा शालिकराम अधिकारीले यस्ता कार्यक्रम विद्यार्थीको सर्वाङ्गीण विकासमा उपयोगी रहेको बताए र वार्षिक गतिविधि तालिका बनाएर सञ्चालन गर्न सुझाव दिए।

कार्यक्रमअन्तर्गत आयोजित विज्ञान प्रदर्शनी र फुड फेस्टिभलमा २०५५ सालका पूर्व विद्यार्थीहरूले विद्यालयलाई १ लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरे। साथै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार अधिकारीले प्राविधिक शिक्षा सञ्चालनका लागि व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे।

प्रधानाध्यापक शंकर आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds