जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका –४ औंराहामा सम्पन्न शिव पुराण महायज्ञको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। शिव पुराण महायज्ञ समितिले आयोजना गरेको उक्त धार्मिक अनुष्ठानबाट उल्लेखनीय रकम बचत भएको देखिएको छ।
समितिका सचिव नवीन खड्काका अनुसार महायज्ञका क्रममा दाताहरूबाट कुल २१ लाख ८० हजार ३ सय ४९ रुपैयाँ संकलन भएको थियो। सो मध्ये १२ लाख ३४ हजार ४ सय २८ रुपैयाँ खर्च हुँदा ९ लाख ४५ हजार ९ सय २१ रुपैयाँ बचत भएको जनाइएको छ। यस्तै, अझै १ लाख १३ हजार रुपैयाँ उठ्न बाँकी रहेको पनि समितिले जानकारी दिएको छ।
नगद सहयोगसँगै जिन्सी सहयोग पनि प्राप्त भएको छ। करिब २६ हजार रुपैयाँ बराबरको सोफा, ३४ हजार रुपैयाँ बराबरको रंग–पेन्ट तथा पोडियम दाताहरूबाट प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ।
उक्त महायज्ञ माघ २६ गतेदेखि सुरु भई फागुन ७ गतेसम्म ११ दिन सञ्चालन भएको थियो। यस अवधिमा दैनिक पूजाआजा, कथा वाचन, भजन–कीर्तनलगायत विविध धार्मिक कार्यक्रमहरू सम्पन्न भएका थिए। कार्यक्रममा स्थानीय भक्तजनहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।
आयोजक समितिका अनुसार धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै समाजमा नैतिकता र सद्भाव फैलाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो। विशेषगरी युवा पुस्तालाई धर्म र सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउने लक्ष्य राखिएको थियो।
समितिका अध्यक्ष भुव प्रसाद ढकालले बचत रकमलाई दीर्घकालीन सामाजिक तथा धार्मिक कार्यमा उपयोग गरिने जानकारी दिएका छन्। उनका अनुसार धर्मशाला निर्माण, ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन, नियमित भजन–कीर्तन कार्यक्रम व्यवस्थापन तथा अक्षयकोष स्थापना गर्ने योजना अघि सारिएको छ।
समितिले आय–व्यय सार्वजनिक गर्दै पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। साथै महायज्ञ सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण दाताहरू, स्वयंसेवक तथा स्थानीयवासीप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

