कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

साझेदारी डेलि
135 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले आज एक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी स्वामित्वका जग्गाहरूको संरक्षण तथा व्यवस्थापनका लागि यस्तो निर्देशन दिएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र र नेपाल सरकार मन्त्रिपरिषद्को एक सय बुँदे कार्ययोजनाको बुदा नम्बर ९२ मा उल्लेख भएबमोजिम यस उपमहानगरपालिकाका क्षेत्र भित्र नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण तथा व्यवस्थापन गर्न आवश्यक देखिएकोले अतिक्रमण हटाउन पहल गरिएको सुचनामा जनाइएको छ।

उपमहानगरपालिकाले सडक, खोला, नाला, ऐलानी, पर्ती, पार्क, गौचर, विद्यालय, सार्वजनिक पोखरी, धार्मिक स्थल, बजार क्षेत्र, मठमन्दिर, इनारलगायतका सार्वजनिक क्षेत्र वरिपरि कसैले निर्माण गरेका घर, टहरा, घेरा वा अन्य संरचना भए ३५ दिनभित्र स्वेच्छाले हटाउन आग्रह गरेको छ।

सुचनाअनुसार तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा कानुनी प्रक्रिया अगाडि बढाइने छ। साथै उपमहानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न र जोखिमपूर्ण स्थानमा बसोबास नगर्न आम नागरिकलाई आग्रह गरेको छ।

Leave a review

This will close in 0 seconds