बारामा मानव-बाघ सहअस्तित्वका लागि ‘बाघ मित्र’ प्रशिक्षण सम्पन्न

रञ्जन यादव
95 पाठक संख्या

जीतपुर । बाराको अमलेखगन्जमा “बाघ मित्र” कार्यक्रमअन्तर्गत कार्यशाला तथा स्वयंसेवक प्रशिक्षण सम्पन्न भएको छ। मानव र बाघबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै दुवैको सुरक्षालाई सन्तुलित रूपमा अघि बढाउने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्जको नेतृत्वमा डब्लु डब्लु एफ नेपाल (तराई भू–परिधि कार्यक्रम)को सहकार्य तथा बारा, पर्सा, रौतहट र मकवानपुरका डिभिजन वन कार्यालयहरूको संयुक्त आयोजनामा दुई दिने कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमले सन् २०२४ देखि कार्यान्वयनमा ल्याइएको “बाघ मित्र” अभियानलाई स्थानीय तहसम्म प्रभावकारी बनाउने लक्ष्य लिएको छ। यस अवसरमा अभियानको कार्य सञ्चालन प्रक्रिया (म्यानुअल) सार्वजनिक गरिएको छ, जसले मानव–बाघ सहअस्तित्वका लागि स्पष्ट मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।

म्यानुअलमा उल्लेखित ‘गर्न हुने’ र ‘गर्न नहुने’ १०–१० बुँदाको आचारसंहिता कडाइका साथ पालना गर्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन्। साथै, छनोट गरिएका ३२ जना स्वयंसेवकलाई जिम्मेवारीपूर्वक परिचालन गर्न शपथसमेत गराइएको छ।

कार्यक्रममा बोल्दै रामचन्द्र खतिवडा ले मानव–वन्यजन्तु द्वन्द्व घटाउन स्थानीय सहभागिता अत्यन्त महत्वपूर्ण रहेको बताए। त्यस्तै, डा. घनश्याम गुरुङ ले समुदायसँग सहकार्य गर्दै संरक्षणका कार्यक्रमलाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

तालिमका क्रममा स्वयंसेवकहरूलाई बाघको व्यवहार, जोखिम व्यवस्थापन, सूचना संकलन तथा आपत्कालीन प्रतिक्रिया सम्बन्धी व्यावहारिक र प्राविधिक ज्ञान प्रदान गरिएको निकुञ्ज प्रशासनले जनाएको छ। कार्यक्रममा विभिन्न जिल्लाका डिभिजन वन अधिकृत, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधि, नेपाली सेना, संरक्षणकर्मी तथा अन्य सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds