बारामा राष्ट्रिय आर्थिक गणना सफल बनाउन योगदान दिने ७५ जना सम्मानित

साझेदारी डेलि
86 पाठक संख्या

कलैया । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा फिल्डस्तरमा खटिएर कार्य सम्पन्न गरेका गणक तथा सुपरिवेक्षकलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ। जिल्ला आर्थिक गणना कार्यालय बाराले आयोजित सम्मान कार्यक्रममा ६६ जना गणक र नौ जना सुपरिवेक्षकलाई उनीहरूको योगदानको कदरस्वरूप सम्मान गरेको हो।

कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी राजेश दासले आर्थिक गणना कुनै सामान्य तथ्याङ्क सङ्कलन अभियान नभई मुलुकको आर्थिक संरचना बुझ्ने महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनले चुनौतीपूर्ण परिस्थितिका बीच पनि जिम्मेवारीपूर्वक कार्यसम्पादन गरेका जनशक्तिकै सक्रियताले बारा जिल्लामा गणना कार्य निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सम्भव भएको बताए।

उनका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयले “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालन गरेको दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म देशभर स्थलगत तथ्याङ्क सङ्कलन गरिएको थियो।

बारा जिल्लामा मात्र २१ हजार ६९७ वटा व्यवसाय तथा प्रतिष्ठानबाट आर्थिक गतिविधिसम्बन्धी विवरण सङ्कलन गरिएको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ। यसबाट जिल्लाको व्यवसायिक अवस्था, रोजगारी, लगानीको प्रवृत्ति, उत्पादन तथा सेवा क्षेत्रको वास्तविक चित्र उजागर हुने अपेक्षा गरिएको छ।

सङ्कलित तथ्याङ्कले संघ, प्रदेश र स्थानीय तहका सरकारलाई विकास योजना निर्माण, आर्थिक नीति तर्जुमा, लगानी विस्तार तथा स्रोत–साधनको प्रभावकारी परिचालनमा तथ्यमा आधारित निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा गणना अभियान सफल बनाउन प्रत्यक्ष रूपमा खटिएका जनशक्तिको समर्पण र मेहनतप्रति आभार व्यक्त गर्दै आगामी तथ्याङ्कीय अभियानहरूमा समेत यस्तै सक्रिय सहभागिताको अपेक्षा गरिएको थियो।

Leave a review

This will close in 0 seconds