जीतपुरसिमरा-६ मा सडक सफाइ र अतिक्रमण नियन्त्रण सुरु

रञ्जन यादव
138 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ ले सडक अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिएको छ। सर्वसाधारणको सहज आवतजावत सुनिश्चित गर्न वडा कार्यालयले सडक तथा सडकछेउमा अव्यवस्थित रूपमा राखिएका निर्माण सामग्री हटाउन थालेको हो।

केही दिनअघि वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सडक क्षेत्रमा राखिएका ढुंगा, इँटा, गिटी, बालुवा लगायतका सामग्री तत्काल हटाउन अनुरोध गरेको थियो। साथै सडकमै सवारी पार्किङ गर्ने, पशुचौपाया बाँध्ने तथा अन्य अवरोध सिर्जना गर्ने गतिविधि रोक्न पनि आग्रह गरिएको थियो।

वडा अध्यक्ष कैमुदिन अंसारीका अनुसार यस्ता गतिविधिका कारण सडक साँघुरिने, दुर्घटनाको जोखिम बढ्ने र बस्तीको सौन्दर्यमा नकारात्मक असर पर्ने गरेको छ। चेतावनीपछि पनि अटेर गरेकाहरूविरुद्ध अहिले नगर प्रहरीसहितको टोली परिचालन गरेर सामग्री हटाउने काम सुरु गरिएको उनले बताए।

वडा कार्यालयले अब पनि नियम उल्लंघन गरे हटाइएको सामग्री व्यवस्थापनमा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने तथा आवश्यक कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।

Leave a review

This will close in 0 seconds