वन अतिक्रमण सम्बन्धी सूचनामा आपत्तिजनक टिप्पणी गर्ने व्यक्ति पक्राउ

रञ्जन यादव
126 पाठक संख्या

जीतपुर । वन अतिक्रमण हटाउने विषयमा डिभिजन वन कार्यालय बाराले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा आपत्तिजनक टिप्पणी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर चेतावनीसहित छाडेको छ।

निजगढ नगरपालिका–९ निवासी बद्रीप्रसाद बडालले वन क्षेत्र खाली गराउन जारी गरिएको सूचनामा हिंसात्मक आशयको टिप्पणी गरेपछि वन कार्यालयले इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएको थियो।

प्रहरीले अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाएको छ। प्रहरीका अनुसार बडालले आफ्नो अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन्। लिखित माफी र प्रतिबद्धतापछि उनलाई चेतावनीसहित छाडिएको हो।

डिभिजन वन कार्यालय बाराले वन संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियान कानुनी प्रक्रियाअनुसार अघि बढिरहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा जिम्मेवार अभिव्यक्ति दिन सबैलाई आग्रह गरेको छ।

Leave a review

This will close in 0 seconds