बारामा मोटरपार्ट्स पसलबाट गाँजा बिक्री गर्दै आएका युवक पक्राउ, १४ ग्राम गाँजा बरामद

साझेदारी डेलि
378 पाठक संख्या

कलैया । बाराको सिम्रौनगढमा मोटरपार्ट्स पसल सञ्चालन गर्दै आएका एक युवक लागूऔषध गाँजासहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सिम्रौनगढ नगरपालिका–६ निवासी अन्दाजी ३३ वर्षीय कृष्णकुमार साह सोनारलाई लागूऔषध गाँजासहित बिहीबार पक्राउ गरिएको हो। उनले सञ्चालन गरेको मोटरपार्ट्स पसलबाट गाँजा बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ।

प्रहरी चौकी अमृतगञ्जखजनीबाट प्रहरी सहायक निरीक्षक जयलाल दास तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी नायव निरीक्षक अग्नु अधिकारीको कमाण्डमा खटिएको संयुक्त टोलीले पसलमा खानतलासी गर्दा काउन्टरको घररामा कालो प्लास्टिकको झोलामा लुकाइराखिएको अवस्थामा पाँच वटा साना प्याकेटमा गाँजा फेला पारेको थियो। बरामद गरिएको गाँजा प्लास्टिकसहित तौल गर्दा १४ ग्राम रहेको सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ परेका सोनारलाई बरामद गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको छ ।

Leave a review

This will close in 0 seconds