गुणस्तरीय बीउ उत्पादनसम्बन्धी क्षमता विकास तालिम सुरु

रञ्जन यादव
55 पाठक संख्या

परवानीपुर । कृषिमा गुणस्तरीय बीउ उत्पादन र यसको प्रभावकारी व्यवस्थापनलाई प्रवद्र्धन गर्ने उद्देश्यले बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालयमा तीनदिने विशेष तालिम सुरु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिममा कृषक, कृषि प्राविधिक, सहकारी संस्थाका प्रतिनिधि तथा बीउ व्यवसायमा संलग्न व्यक्तिहरूको सहभागिता रहेको छ। सहभागीलाई गुणस्तरीय बीउ उत्पादनदेखि यसको प्रमाणीकरण र बजार व्यवस्थापनसम्मका विषयमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।

तालिममा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहरभवन ललितपुरका वरिष्ठ बाली विकास अधिकृत डा. प्रकाश आचार्यसहित अनुभवी प्रशिक्षकहरूले सहजीकरण गरिरहेका छन्। प्रशिक्षणका क्रममा विभिन्न बालीका लागि बीउ उत्पादन प्रविधि, उपयुक्त खेत छनोट, पृथकीकरण दूरी कायम गर्ने विधि, रोग तथा कीरा व्यवस्थापन, बीउ संकलन, प्रशोधन, ग्रेडिङ, सुरक्षित भण्डारण, प्याकेजिङ र बजारीकरणका विषय समेटिएका छन्।

यसका अतिरिक्त बीउको अंकुरण क्षमता परीक्षण, शुद्धता मूल्यांकन, चिस्यान व्यवस्थापन, गुणस्तर प्रमाणीकरण, लेबलिङ, ट्रेसबिलिटी प्रणाली, बीउसम्बन्धी कानुनी व्यवस्था तथा गुणस्तर परीक्षणका व्यावहारिक पक्षबारे समेत विस्तृत जानकारी दिइने कार्यक्रम रहेको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बारा प्रमुख तथा वरिष्ठ कृषि अधिकृत राम्बलम प्रसाद साहले हाल धेरै स्थानमा प्राविधिकको सिफारिसकै आधारमा बीउ बिक्री–वितरण हुने अभ्यास रहेकाले त्यसलाई कानुनी मापदण्डअनुसार व्यवस्थित बनाउन यस्ता तालिम आवश्यक भएको बताए। उनका अनुसार आगामी दिनमा गुणस्तर प्रमाणीकरण, आधिकारिक ट्याग र तालिम प्राप्त व्यवसायीको प्रमाणपत्रबिना बीउ बिक्री–वितरण गर्न नपाइने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।

साहले गुणस्तरीय बीउको उत्पादन र प्रयोगले कृषि उत्पादन तथा उत्पादकत्व बढ्नुका साथै कृषकको आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गरे। उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गरी स्थानीय स्तरमै गुणस्तरीय बीउ उत्पादन विस्तार गर्न सहभागीहरूलाई आग्रह गरे।

तीन दिनसम्म सञ्चालन हुने तालिममा सहभागीहरूले बीउ उत्पादन, गुणस्तर परीक्षण, प्रमाणीकरण, सुरक्षित भण्डारण तथा बजार व्यवस्थापनका सम्पूर्ण चरणको व्यावहारिक अभ्यास गर्नेछन्। यसबाट स्थानीय स्तरमा गुणस्तरीय बीउको उत्पादन र उपलब्धता बढ्दै कृषि क्षेत्रको दिगो विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

Leave a review

This will close in 0 seconds