जीतपुर । बाराको विश्रामपुर गाउँपालिका–३ मुसहर्वा उत्तरवारीटोलका ११ वर्षीय राजेश गुप्ता (मिटु) सम्पर्कविहीन भएपछि सुरक्षा निकायले खोजी अभियानलाई तीव्र बनाएको छ। घरबाट निस्किएका बालक लामो समयसम्म नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो।
स्थानीय राजकुमार गुप्ताका छोरा राजेश मंगलबार बिहान करिब ९ बजेपछि परिवारको सम्पर्कमा नरहेको जनाइएको छ। दिनभर खोजी गर्दा पनि फेला नपरेपछि साँझ करिब ८ बजे उनकी आमाले प्रहरी चौकी बलिरामपुरमा घटनाबारे जानकारी गराएकी थिइन्।
सूचना पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सम्भावित स्थानमा खोजी सुरु गरेको थियो। इलाका प्रहरी कार्यालय प्रसौनी तथा सशस्त्र प्रहरी बल बीओपी बरैनियाबाट खटिएको टोलीले गाउँका विभिन्न टोल, खेतबारी, सरेह तथा आसपासका क्षेत्रमा खोजतलास गरेको जनाएको छ।
बालकको खोजीमा सुरक्षा निकायसँगै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, स्थानीय पत्रकार, वडा नम्बर ३ का वडाध्यक्ष र स्थानीय बासिन्दासमेत परिचालित भएका छन्। खोजीका क्रममा चोक तथा सार्वजनिक स्थानमा जडान गरिएका सीसी क्यामेराका दृश्यसमेत प्रहरीले हेर्न थालेको छ।
बुधबार बिहानदेखि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन थापाको नेतृत्वमा थप टोली परिचालन गरी खोजी तथा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले स्थानीयसँग सोधपुछ गर्नुका साथै बालक पुग्न सक्ने सम्भावित स्थान पहिचान गरी खोजी गरिरहेको छ।
घटनाबारे जानकारी लिन जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र , जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल तथा राष्ट्रिय अनुसन्धानका उप-निर्देशक सरोज निरौलासहितको टोली बालकको घर पुगेका थिए। उनीहरूले परिवारका सदस्यसँग बालक हराउनुअघिको अवस्थाबारे जानकारी लिएका छन्।
अनुसन्धानका क्रममा मुसहर्वा गाउँका दुई बालक र उनीहरूका आमासँग समेत प्रहरीले सोधपुछ गरेको जनाएको छ। उनीहरूलाई घटनासँग जोडेर आरोपित गरिएको नभई बालकको अवस्थाबारे थप जानकारी संकलन गर्ने क्रममा अनुसन्धानको दायरामा राखिएको प्रहरीको भनाइ छ।
समाचार तयार पार्दासम्म राजेशको अवस्था र उनी कहाँ छन् भन्नेबारे यकिन हुन सकेको छैन। प्रहरीले बालकको खोजीलाई प्राथमिकतामा राखेर सम्भावित सबै स्थानमा खोजतलास जारी राखेको जनाएको छ।


