जीतपुर : बाराको रजघट्टामा अवस्थित सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ।
साधारणसभाको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले गर्नुभयो। सभामा सहकारीका अध्यक्ष शोभा केसीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्षका उपलब्धि, चुनौती र आगामी योजना बारे जानकारी दिनुभयो।
संस्थाले आर्थिक बर्ष २०८१।०८२ मा ३२ लाख ५० हजार ३ सय २० रुपैया नाफा आर्जन गरेको छ भने १२ प्रतिशत लाभांस बितरण गर्ने संस्थाका ब्यवस्थापक गुणराज ढकालले जानकारी दिए । हाल सहकारीमा १ हजार ८ सय ९८ जना सदस्य रहेका छन् र यसले १३ करोड ७१ लाख ६७ हजार ४ सय रूपैयाँ बराबरको कारोवार गरिरहेको संस्थाले जनाएको छ।
कार्यक्रममा व्यवस्थापक गुणराज ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष विदुर खड्काले स्वागत मन्तव्य राख्नुभयो। साथै, संस्थाले यस वर्षको ‘सप्तरंगी समाज सेवा पुरस्कार’ सर्प संरक्षणमा सक्रिय भूमिका निभाउँदै आएका दीपक नेपाललाई प्रदान गरेको थियो ।
त्यसैगरी, सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारकर्ता, जेष्ठ नागरिक र नियमित दैनिक बचतकर्ताहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष तथा सहकारीका पूर्व अध्यक्ष राजु अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका–१४ का वडाध्यक्ष चयन गुरुङ, १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, संस्थापक शेयर सदस्य श्यामप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सचिव अनिल चौधरीले गर्नुभएको थियो ।


