बारामा बाटो काट्दै गरेका बालकलाई ईभीले ठक्कर दिँदा मृत्यु

साझेदारी डेलि
367 पाठक संख्या

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित केडिया आँखा अस्पताल अगाडि ईभी गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार दिउँसो वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०९०१ नम्बरको ईभी गाडीले बाटो काट्दै गरेका भारतको मोतिहारी जिल्लामा बस्ने मोहम्मद गुफानका छोरा ७ वर्षीय मोहम्मद ईशानलाई ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका ईशानलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो २ः०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीनबहादुर घलेले जानकारी दिएका छन् ।

घटनापछि इलाका प्रहरी कार्यालय परवानीपुरबाट प्रहरी नायब निरीक्षक बालराज गिरीको कमाण्डमा खटिएको टोलीले ईभी गाडी र चालक पर्साको वीरगन्ज महानगरपालिका–३२ मा बस्ने २६ वर्षीय लक्षुमन पासवानलाई नियन्त्रणमा लिएको छ।

चालकलाई इलाका प्रहरी कार्यालय परवानीपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता घलेले जानकारी दिए । उनका अनुसार मृतक बालकको शव मुचुल्का पश्चात् पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको छ।

Leave a review